तोलाकान्त बगाले
वालिङ, २८ माघ ।
नेपाली सेनाको श्रमदानमा स्याङ्जाका दुई स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति÷श्रमदानमा ‘एक आर्थिक वर्ष, एक युनिट ः जोडी हेलिप्याड निर्माण’ गर्ने योजना अनुरुप हेलिप्याड निर्माण गरिएको हो । स्याङ्जाको हरिनास र अर्जुनचौपारी गाउँपालिकामा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
स्याङ्जा जिल्लाको भौगोलिक अवस्था र सडक सञ्जालमा कम पहुँच रहेको स्थानबाट आकस्मिक उद्दार तथा विपदको समयमा हुनसक्ने आकस्मिक कार्यको प्रयोगमा सहजता बनाउन हेलिप्याड निर्माण गरिएको समरजीत गुल्म स्याङ्जाका सह सेनानी अनुप अर्यालले बताउनुभयो । “सडकको पहुँचबाट टाढा रहेका गाउँहरुबाट संभावित आकस्मिक उद्दार कार्यहरुलाई सहज र छिटो छरितो बनाउनकालागि हेलिप्याड निर्माण गरेका हौं” उहाँले भन्नुभयो, “जहाँबाट संभावित आकस्मिक उद्दारहरु गर्न सकिन्छ भने नागरिक–सैनिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यसमेत रहेको छ ।”
हरिनास गाउँपालिका ४ चुलीडाँडामा निर्माण गरिएको हेलिप्याडबाट हरिनास गाउँपालिका आसपासको क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने भएका हुन् । नवनिर्मित हेलिप्याड ६० फिट लम्बाई र ६० फिट चौडाई तथा डेढ फिटको ढलान रहेको छ । चुलीडाँडामा गत असोजबाट सुरु गरेर कार्तिकमा एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड माघ १० गते गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
“गाउँपालिकाको आर्थिक ब्यवस्थापन र नेपाली सेनाको श्रमदानमा निर्माण भएको हेलिप्याड गाउँपालिकालाई नै हस्तान्तरण गरेका छौं” उहाँले भन्नुभयो, “सार्वजनिक जग्गामा निर्माण भएको हेलिप्याड बहुपयोगी रहेको छ ।”
समरजीत गुल्मको श्रमदान र अर्जुनचौपारी गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा अर्जुनचौपारी १ मा हेलिप्याड निर्माण गरिएको थियो । गत आर्थिक वर्ष २०७९÷०८० को जेठबाट निर्माण सुरु भएको हेलिप्याड असारमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । दैवी विपत्ति लगायत संभावित आकस्मिक उद्दार कार्यलाई छिटो छरितो बनाउनकालागि हेलिप्याडले सहयोग पुग्ने विश्वास गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको छ ।