प्रहरी चौकी भवन बनाउन जग्गा जुटाईदैं

0
51
Google search engine

वालिङ, ८ माघ ।
स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडीखोलास्थित पाण्डेथोकमा रहेको प्रहरी चौकी भवन भूकम्पकारण थला परेको छ । भूकम्पले प्रहरी चौकी भवन चर्किएर जीर्ण भएपछि अहिले सुरक्षाकर्मीहरुले साविक पिडीखोला गाउँ विकास समितिको पुरानो कार्यालयबाट नागरिकलाई सुरक्षा दिंदै आईरहेका छन् ।
साविकको प्रहरी चौकीको भवन भूकम्पले चर्किएपछि त्यहाँ असुरक्षित महसुस गरी पुरानो गाविस भवनबाट सेवा दिईरहेको गल्याङ नगरपालिका वडा नं ६ का अध्यक्ष दीप गुरुङले बताउनुभयो ।

Google search engine

सुरक्षाकर्मी पहिला आँफू सुरक्षित भएमात्रै नागरिकलाई सुरक्षा प्रदान गर्न सक्ने भएकाले साविककै ठाउँमा जग्गा ब्यवस्थापन गरी नयाँ भवन बनाउनकालागि अगाडि बढेको उहाँले बताउनुभयो ।
स्थानीयको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गल्याङ नगरपालिका, वडा कार्यालय, पिडीखोला प्रहरी चौकी तथा स्थानीयको पहलमा भवन निर्माणकालागि जग्गा जुटाउने कार्य भईरहेको उहाँले बताउनुभयो ।
यसअघि प्रहरी चौकीले प्रयोग गर्दै आएको जग्गाको आसपासमा तीन रोपनी ९ आना खरिद गरिएको छ । सोही ठाउँमा स्थानीय नारायण पाण्डेले निशुल्क तीन आना जग्गा उपलब्ध गराउनुभएको छ ।
प्रहरी चौकी भवन निर्माण गर्न साविककै पाण्डेथोकमा प्रहरी चौकीले प्रयोग गर्दै आएको जग्गा, खरिद गरिएको र निशुल्क प्राप्त भएको गरी हाल पाँच रोपनीभन्दा धेरै जग्गा रहेको पिडीखोला प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) शान्तकुमार श्रेष्ठले बताउनुभयो ।
हाल बस्दै आएको गाविसको भवन पनि पुरानो र जीर्ण रहेकाले नयाँ भवन निर्माणकालागि प्रक्रिया अगाडि बढाईएको उहाँले बताउनुभयो ।
प्रहरी चौकीको आफ्नै भवन भूकम्पले क्षति पुगेपछि नजिकै रहेको गाविसको भवनमा सरेको हो । पिडीखोला प्रहरी चौकीले गल्याङ नगरपालिका अन्तर्गतका वडा नं ६ को पूरै, वडा नं ५ र ७ का केही भागमा सुरक्षा दिने गरी कार्यक्षेत्र निर्धारण गरिएको छ । प्रहरी चौकीमा हाल प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा पाँच जना प्रहरी कार्यरत रहेका छन् ।

Google search engine