तोलाकान्त बगाले
वालिङ १९ पुस ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको प्रथम वालिङ गोल्डकपको आयब्याय सार्वजनिक गरिएको छ ।
वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकप सञ्चालनकालागि विभिन्न संघ संस्था तथा ब्यक्तिहरुबाट कूल रु. एकतीस लाख ३९ हजार ७२५ आम्दानी भएको आयोजक क्लबका कोषाध्यक्ष सुबिन्द्र गुरुङले बताउनुभयो ।
आम्दानी मध्ये दुई लाख १० हजार उठ्न बाँकी रहेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नकालागि कूल रु. छब्बीस लाख ५५ हजार ४५० खर्च भएको उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न भई वचत भएको रकमलाई खेल क्षेत्रको विकास, खेलमैदानको संरक्षण र वालिङमा एकेडेमी सञ्चालनकालागि प्रयोग गरिने उहाँले बताउनुभयो ।
“खेल सकिएको केही समयभित्रै आम्दानी खर्च सार्वजनिक गर्ने हामीले सहयोगी संघ संस्था तथा सहयोगी ब्यक्तिहरुमाझ प्रतिवद्धता गरेका थियौं” उहाँले भन्नुभयो, “कारोबारहरु सबै बैंकिङ प्रणालीमार्फत गरेका छौं, उठ्नुपर्ने केही रकम उठ्न बाँकी रहेको र केही प्राविधिक कारणले गर्दा सार्वजनिक गर्न ढिला भयो यसमा क्षमाप्रार्थि छौं ।”
यो प्रतियोगिता समग्रमा राम्रो भएको प्रतियोगिता संयोजक केशरबहादुर थापा (राजन) ले बताउनुभयो । प्रतियोगिता सञ्चालनका क्रममा देखिएका कमि कमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा सुधार गर्दै अगाडि बढ्ने तयारीमा आयोजक रहेको उहाँले बताउनुभयो ।
मोफसलकै एउटा उदाहरणीय प्रतियोगिताकोरुपमा वालिङ गोल्डकपलाई पहिचान दिलाउने गरी प्रत्येक २÷२ वर्षमा आयोजना गर्ने तयारी आयोजक क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताउनुभयो । पुुस ३० देखि माघ ७ सम्म वालिङ खेलमैदानमा सम्पन्न भएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुन, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, लिस्नु फुटबल क्लब रुपन्देही, साहारा क्लब पोखरा र आयोजक वालिङ युनाईटेड निलो र रातो गरी कूल आठ टीमको सहभागिता थियो ।
प्रतियोगितामा आयोजक वालिङ युनाईटेड निलोले उपाधि जितेको थियो भने एभिनियर फुटबल क्लब क्यामरुन द्वितीय भएको थियो ।