वालिङ, २२ पुस ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं गण्डकी प्रदेशका प्रवक्ता सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेश सरकार योजना घटाउने र रकम बढाउने तयारीमा रहेको बताउनुभएको छ ।
लम्जुङको राईनास नगरपालिका ६ धमिलिकुवास्थित शैलपुत्री नमुना माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले गण्डकी प्रदेश सरकारले प्राथकिताका आधारमा योजनाहरु छनोट गर्ने र उक्त योजनालाई पुग्ने गरी बजेट विनियोजन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको हो ।
अहिले गण्डकी प्रदेश सरकारले न्यूनतम दश लाख बजेट विनियोजन गरेकोमा यसलाई वृद्धि गर्ने तयारीमा रहेको बताउनुभएको हो ।
“योजना धेरै हुँदा बजेट पनि थोरै थोरै विनियोजन गर्नुपर्ने बाध्यता हुने गरेको छ” उहाँले भन्नुभयो, “योजना पनि ठूला र प्राथमिकता र आवश्यकताका आधारमा छनोट गर्ने र बजेट पनि धेरै विनियोजन गर्न सकेमात्रै कामले गति लिनसक्ने भएकाले सोही अनुसार प्रदेश सरकारले योजना र बजेट विनियोजन गर्दै छ ।”
उहाँले उक्त विद्यालय परिसरमा निर्माण भएको खानेपानी ट्याङ्कीकोसमेत उद्घाटन गर्नुभएको थियो ।
एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश, खेतीयोग्य जमिनमा सिञ्चाईको ब्यवस्था, खेतीयोग्य जमिनको संरक्षण, एकीकृत वस्ती विकास जस्ता कार्यहरुलाई तिव्रताकासाथ अगाडि बढाईरहेको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले गण्डकी प्रदेश सरकारले लिफ्टिङ खानेपानी र सिञ्चाईको विद्युत महशुल छुट दिने पहिलो निर्णय गरेको बताउँदै त्यसको कार्यान्वयन गण्डकी प्रदेश सरकारले गरिरहेको जानकारी दिनुभयो ।
विद्यालयले स्वर्ण जयन्ती मनाउँदै गर्दा यस विद्यालयले शैक्षिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास ब्यक्त गर्दै आगामी दिनमा पनि शैक्षिक उन्नति प्रगतिको शुभकामना उहाँले ब्यक्त गर्नुभयो ।
विद्यालयले पुस १८ देखि २७ गतेसम्म विविध कार्यक्रमहरुसहित ५० औं वार्षिकोत्सव तथा ५४ औं अभिभावक भेला मनाउने भएको हो ।