वालिङ, १४ पुस ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धनमा आवद्ध रहेका दलहरुको सहमति र स्वीकृतिमा मन्त्रीहरुको फेरबदल हुन सक्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन स्याङ्जाले शुक्रबार वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले वर्तमान सरकारको एकवर्ष पूरा भएको र सो अवधिमा जनअपेक्षा अनुसार काम हुन नसकिरहेको आवाज आईरहेका बेला मन्त्रीहरुको फेरबदल गर्न सकिने बताउनुभएको हो ।
प्रधानमन्त्रीले चाहेको खण्डमा गठबन्धनमा आवद्ध रहेका राजनीतिक दलहरुको स्वीकृतिमा टिमको स्प्रिट अनुसार काम गर्न सक्ने मन्त्रीहरु अट्न सक्ने र काम गर्न नसक्ने मन्त्रीहरु बाहिरिन सक्ने बताउनुभएको हो । कार्यक्रममा भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताउनुभएको हो ।
भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानविन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिने गरेको उहाँले बताउनुभयो । यो प्रवृत्तिको अन्त्य हुनुपर्ने र दोषी जोसुकै भए पनि सजायको भागीदार हुनुपर्नेमा उहाँको जोड छ ।
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेको अध्यक्षतामा र सचिव शंकर सुवेदीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष गोपीकृष्ण रेग्मीले गर्नुभएको थियो ।