आजबाट वालिङका विद्यालयहरु चार दिन बन्द

0
107
Google search engine

तोलाकान्त बगाले
वालिङ, २६ साउन ।
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु आजबाट चार दिन बन्द हुने भएका छन् । नगरभित्रका विभिन्न स्थानहरुमा आँखा पाक्ने रोगले आक्रान्त पारेसँगै यसको रोकथाम तथा न्यूनिकरणकालागि विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो । आँखा पाक्ने रोगको प्रभाव विभिन्न विद्यालयहरुमा फैलदै गएकाले सङ्क्रामक सरुवा रोगको चक्रलाई रोक्न चार शुक्रबारदेखि सोमबारसम्म चार दिन विद्यालय बन्द गर्न सूचना जारी गरिएको उहाँले बताउनुभयो ।
“वालिङ नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु चार दिनसम्म बन्द गर्न सूचना जारी गरेका छौं” उहाँले भन्नुभयो, “अहिले गरिएको विदालाई विद्यालयहरुको वर्षे, हिउँदे, स्थानीय विदाबाट कट्टा हुने गरी ब्यवस्था मिलाउने छौं ।”
विद्यालय बन्द भएसँगै विद्यार्थीलाई घरमै सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्ने सन्देशमूलक सूचनाहरु प्रवाह गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ । वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा अहिले आँखा पाकेका बिरामीहरु धेरै आउने गरेका छन् । अस्पतालसहित अन्य स्वास्थ्य संघ संस्था तथा निजी फार्मेसीहरुमा पनि आँखाका बिरामी बढी आएका छन् ।
वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा अहिले आँखाका बिरामीको भीड लाग्ने गरेको आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताउनुभयो । “आँखा उपचार केन्द्रमा हिजोआज दैनिक झण्डै ८० प्रतिशत बिरामी आँखा पाकेका आउँछन्” प्रमुख गुरुङले भन्नुभयो, “उपचारकालागि आएकामध्ये अधिकांश बालबालिकाहरु छन् ।”
आँखामा हातले नछुने, छोईसकेपछि साबुनपानीले राम्रोसित हात धुने, आँखाका बिरामीको नजिकै नजाने, बिरामीले प्रयोग गरेका रुमाल लगायतका सामग्रीहरु संयुक्तरुपमा प्रयोग नगर्ने, बालबालिकाहरुलाई विद्यालय नपठाउने, बिरामीलाई छुट्टै सुरक्षित राख्ने, कालो चश्मा लगाउने लगायतका कार्यहरु गर्न उहाँले सुझाव दिनुभयो । भाईरसबाट सर्ने सरुवा रोग भएकाले सङ्क्रमण छिटो फैलने भएकाले सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आँखामा जथाभावी जे पायो त्यही औषधि प्रयोग नगर्ने, आँखा नमिच्न सुझाव दिनुहुँदै नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सको परामर्श अनुसार उपचार गर्न आग्रह गर्नुभयो ।

Google search engine
Google search engine