तोलाकान्त बगाले
वालिङ
स्याङ्जाका ४१ प्रतिशत खानेपानीमा ईकोलीका जिवाणु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाले जिल्लाका एघार वटै पालिकाबाट पानीको नमूना सङ्कलन गर्दा ईकोली भएको पुष्टि भएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा एघार वटा पालिकाका विभिन्न ठाउँमा खानेपानीकोरुपमा प्रयोग गर्दै आएका ९४ वटा पानीको नमूना सङ्कलन गर्दा ३९ वटामा ईकोली रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताउनुभयो । मुल, ट्याङ्की, इनार, सार्वजनिक तथा निजी धाराहरुमा पानीको नमूना परीक्षण गर्दा ईकोली देखिएको हो । सङ्कलन गरिएका नमूनामध्ये सबैभन्दा धेरै बिरुवा गाउँपालिका र सबैभन्दा थोरै पुतलीबजार नगरपालिकाका खानेपानीमा ईकोलीका जिवाणु भेटिएको हो ।
बिरुवा गाउँपालिकामा ६६ प्रतिशत र पुतलीबजार नगरपालिकामा ३१ प्रतिशत खानेपानीमा ईकोली रहेको छ । बिरुवा गाउँपालिकाका ६ मध्ये ४, चापाकोट नगरपालिकाका ८ मध्ये ५, हरिनास गाउँपालिकाका ४ मध्ये २, फेदीखोला गाउँपालिकाका ४ मध्ये २, भीरकोट नगरपालिकाका १३ मध्ये ६, अर्जुनचौपारी गाउँपालिकाका ५ मध्ये २, गल्याङ नगरपालिकामा ६ मध्ये १, वालिङ नगरपालिकाका ८ मध्ये ३, आँधीखोला गाउँपालिकाका ८ मध्ये ३, कालीगण्डकी गाउँपालिकाका १६ मध्ये ६, पुतलीबजार नगरपालिकाका १६ मध्ये ५ वटा खानेपानीमा ईकोली देखिएको हो । आर्थिक वर्ष २०७८÷०७९ मा गरिएको नमूना परीक्षणमा ५२ प्रतिशत खानेपानीमा ईकोली देखिएको थियो । उक्त आवमा ५६ वटा खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गर्दा २९ वटामा ईकोली देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले बताउनुभयो । हिउँदभन्दा वर्षायाममा पानीका स्रोतहरु दुषित हुने भएकाले ईकोली बढी देखिने गरेको छ । ईकोली देखिएका खानेपानीको प्रयोगले स्वास्थ्यमा समस्या देखिन्छ । सकेसम्म ईकोली देखिएका पानी पिउनकालागि प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो । ईकोलीले हैजा, झाडापखाला, टाईफाईडजस्ता दुषित पानीजन्य सरुवा रोगहरु फैलन सक्ने भएकाले समयमै पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्ने गह«ौं प्राथमिक अस्पताल वालिङका प्रमुख डा. सुरज ढकालले बताउनुभयो । ईकोलीकाकारण झाडापखला, ज्वरो, रुघाखोकी, आउँ, टाईफाईड, हैजा लगायतका रोग लाग्ने भएकाले खानेपानीकोरुपमा प्रयोग गर्दा सावधानी अपनाउनुुपर्ने सुझाव दिनुभयो । ईकोली देखिएका खानेपानी प्रयोग गर्दा कीटनाशक औषधिको प्रयोग, उमाल्ने, फिल्टर गर्नुकासाथै अन्य विधिबाट प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।