वालिङ, २२ असार ।
वालिङ नगरपालिकालाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने गरी काम अगाडि बढाईएको उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो । वालिङ नगरपालिकाको आयोजना तथा आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेज वालिङको समन्वयमा ईविक परियोजना अन्तर्गत वस्तु तथा सेवाको प्रदर्शनी एवं प्रतिस्पर्धात्मक कार्यक्रमको आज वालिङमा सुरुआत गर्नुहुँदै उपप्रमुख तिवारीले दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने गरी काम अगाडि बढाईएको बताउनुभएको हो ।
नगरपालिकाले उक्त कार्यबाट उपलब्धी हासिल गर्नकालागि आगामी आर्थिक वर्षकालागि रु. आठ करोड विनियोजन गरेको उपप्रमुख तिवारीले बताउनुभयो । नगरभित्र हाल एकहजार २२ जना सूचिकृत उद्यमीहरु रहेका छन् । सूचिकृत उद्यमीहरुलाई उद्योग ब्यवसाय सञ्चालन गर्दा आईपरेका समस्याको समाधानकालागि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।
“उद्यमीहरुलाई उद्योग सञ्चालन गर्नकालागि आर्थिक अभाव हुन दिंदैनौं” उहाँले भन्नुभयो, “वस्तुको उत्पादन तथा उत्पादित वस्तुको बजारीकरणको ब्यवस्थापनमासमेत नगरपालिकाले सहयोग गर्ने छ ।”
माटो सुहाउँदो उत्पादनमा जोड दिनुपर्ने बताउनुहुँदै उहाँले बाँझो जमिनको ब्यवस्थापन गरी अब उत्पादनका क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । “वालिङ नगरपालिकालाई अर्गानिक शहरकोरुपमा पहिचान दिने गरी नगरपालिका अगाडि बढेको छ” उहाँले भन्नुभयो, “यो कार्यकालागि नगरपालिका एक्लैको प्रयासलेमात्रै संभव नहुने भएकाले नगरवासीहरुले पनि साथ र सहयोग गर्नुपर्छ ।”
यहाँ उत्पादित भएका वस्तुहरुको बिक्रीकालागि भैरहवा तथा कालीमाटीसँंग समेत समन्वय गर्ने र बिक्री हुन नसकेका वस्तुहरुलाई दाना बनाउने, मल बनाउने गरी वालिङलाई अर्गानिक शहरको रुपमा विकास गर्दै लगिने उहाँले बताउनुभयो । वर्षेनी हुँदै आएको बसाईसराईको दरलाई रोक्न तथा बैदेशिक रोजगारीको न्युनिकरण गर्न एक टोल एक उत्पादनको कार्यक्रम लागू गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्साल, सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाल मौरीपालक किसान महासंघका अध्यक्ष श्यामप्रसाद अर्याल, अगुवा कृषक राजेन्द्रप्रसाद गैह«ेलगायतले मन्तब्य राख्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य उत्पादन, पशुजन्य उत्पादन, झोला, चुरापोते, नर्सरी, फलफूल, मोडा, अर्गानिक गड्यौले मल, सावुन, पोशाकहरु प्रदर्शनीमा राखिएको छ । प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । स्वागत आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेजका अध्यक्ष गुमानसिंह रानाले गर्नुभएको थियो भने धन्यवाद वडा नं. १३ का अध्यक्ष नमलाल डुम्रेले र सञ्चालन दिपक लम्सालले गर्नुभएको थियो । इबिक परियोजना लागू भएका पालिकाहरु मध्ये वालिङ नगरपालिका उत्कृष्ट भएकाले यहाँ प्रदर्शनी तथा उद्यमीहरुको प्रोत्साहनकोलागि प्रतिष्पर्धात्मक कार्यक्रम राखिएको हो ।