वालिङको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि उत्पादनलाई प्राथमिकता

0
97
Google search engine

वालिङ १० असार ।
स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । ‘उत्पादन, रोजगारी र पूर्वाधारःवालिङको विकास र समृद्धिको आधार’ भन्ने उद्गार सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरमा उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ । बढ्दो बेरोजगारी समस्यालाई नीति तथा कार्यक्रमले समाधान गर्ने लक्ष्य लिइएको छ । गत आ.व.मा तय गरिएका नीति तथा कार्यक्रमहरु र योजनाहरुको सफल कार्यान्वयन भएको जानकारी दिदैँ नगरप्रमुख खाँणले विगतका कोही योजनाहरुको प्रतिफल क्रमशःप्राप्त भैरहेको उल्लेख गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरको कृषि उत्पादन वृद्धि गर्न प्राथमिकता दिइएको छ । नगरभित्रका ६७ प्रतिशत नागरिकहरु कृषिमा आवद्ध रहेकोले उनीहरुको आर्थिक स्तर उकास्नको लागि कृषि क्षेत्रलाई ग्राहयता दिइएको कार्यक्रममा उल्लेख छ ।
कृषि उत्पादन वृद्धिको लागि ‘एक टोल एक सामुहिक कृषि उत्पादन’ नीति अवलम्बन गरी स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुन्तला, कोदो र अदुवाजस्ता अन्न तथा फलफुलबाट स्थानीय मदिरा उत्पादन एवं लेबलिङ र ब्राण्डिङ गरी नगरको आन्तरिक आय वृद्धि गरिने कार्यक्रमलाई अगाडि सारिएको छ । कृषि तथा पशुपालनमा विशेष जोड दिइएको कार्यक्रममा रैथाने बालीहरुको संरक्षण तथा उत्पादनमा वृद्धि,बाँदर आतङ्क न्युनिकरणको लागि हेरालुको व्यवस्था, दुधको शुद्धताको लागि गोठदेखि ओँठसम्म नीति तय गरिएको छ ।
नगरको पूर्वाधार विकासको लागि आयोजना बैङ्क स्थापना गर्ने र लगानीमैत्री वातावरणमा लगानीकर्तालाई आकर्षण गरिने नीति लिइएको छ । खानेपानी, यातायात, पार्किङ, सडक सञ्जाल लगायतको उचित व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि सारिने नीति तथा कार्यक्रम अगाडि सारिएको छ । यस आ.व.मा थप १५ कि.मि.सडक कालोपत्रे गर्ने लक्ष्य नगरको रहेको छ । आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘शिव पार्वती वृद्धाश्रम’सँग सहकार्य गरी असहाय,अशक्त व्यक्तिहरुको उचित व्यवस्थापन गरिनेछ ।
नगरप्रमुख खाँणका अनुसार नगरका २५ हजार नागरिकहरु स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् भने १५ हजार जना बीमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन् । नगरको समृद्धिको लागि युवा,खेलकुद तथा शिक्षा नीति, सहकारी सम्बन्धी नीति, विपद् व्यवस्थापन, महिला, बालबालिका तथा जेष्ठ नागरिक लगायतका नीतिहरुको अगाडि सारिएको छ ।

Google search engine
Google search engine