नीति, कार्यक्रम र बजेटका विषयमा अन्तरक्रिया

0
77
Google search engine

वालिङ, ५ असार ।
वालिङ उद्योग वाणिज्य संघले नगरपालिकाको आगामी नीति, कार्यक्रम र बजेटका विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । उद्योग वाणिज्य संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी संघले यहाँका व्यापारी तथा व्यवसायीहरुसंँग आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रि बजेट अन्तरक्रिया गरेको हो । कार्यक्रममा यहाँका व्यापारी तथा व्यवसायीहरुले ठेला व्यापारको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
ठेला व्यापारबाटै गुजारा गर्दै आएकाहरुको पहिचान गरी उनीहरुको उचित व्यवस्थापन गरी ठेला व्यवसाय हटाउनुपर्ने बताएका हुन् । घर भाडामा एकरुपता हुनुपर्ने भन्दै बाहिरका व्यापारीले यहाँ आएर सामन बेच्दा स्थानीय व्यापारी मर्कामा परेको गुनासो गरे । पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापारी व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै यसप्रति नगरपालिकाले आगामी नीति, कार्यक्रम र बजेटमा यस विषयलाई समेटेर लैजानुपर्ने समेत व्यापारी तथा व्यवसायीहरुको माग छ ।
साथै यहीँ उत्पादिन वस्तुको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने भन्दै हस्तकला तथा लघु तथा साना व्यवसायीहरुको हितमा समेत नगरपालिका गम्भीर हुनुपर्ने सुझाव तथा माग उनीहरुको थियो । सुझावहरुको ग्रहण गर्दै नगरप्रमुख कृष्ण खांँणले नीजि क्षेत्रको विकासमा नगरपालिका प्रतिवद्ध रहेको भन्दै यहाँका व्यापारी व्यवसायीहरुको समस्या र गुनासाहरुलाई नगरपालिकाले गम्भीरताका साथ लिएको बताउनुभयो । आगामी नीति तथा कार्यक्रममा व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि निश्चित मापदण्डका साथ अगाडि बढ्ने नगर प्रमुख खांँणले बताउनुभयो । यहाँको व्यापार व्यवसाय धरासयी हुँदा सिंगो नगरलाई असर गर्ने भएकाले व्यापार व्यवसायबाट भईरहेको पलायनलाई रोक्न कहाँ के गर्न सकिन्छ त्यसका लागि नगरपालिका प्रयासरत रहेको प्रमुख खांँणको भनाई छ ।

Google search engine

कार्यक्रममा उपप्रमुख कविता तिवारी, वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शोभाकान्त पौडेल, संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, यामबहादुर गुरुङ आफ्नो धारणा राख्नुभएको थियो । संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीले र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

Google search engine