वालिङ, ३० कार्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर संविधान र विधिको शासनभन्दा माथि जान खोजेको आरोप लगाउँदै त्यस्तो कदम काँग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । आइतबार स्याङ्जाको वालिङमा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ (क) द्वारा आयोजित पदस्थापन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

सरकारले कानूनलाई हातमा लिएर अगाडि बढ्न खोजे काँग्रेसले सरकारविरुद्ध अभियान सुरु गर्ने जनाउ दिँदै उहाँले भन्नुभयो, “संविधानभन्दा माथि कोही बस्न खोज्छ भने त्यो दुस्साहस मात्रै हो । काँग्रेस देशमा हुँदासम्म यस्ता दुस्साहस सम्भव छैनन् ।” झण्डै दुई तिहाई समर्थन प्राप्त सरकारसँग नागरिकका धेरै अपेक्षा रहेकाले जनपक्षीय काममा केन्द्रित हुन उहाँले सरकारलाई सुझाव दिनुभयो । सरकारले नागरिकका मुद्दामा काम गरेमा काँग्रेसले प्रतिपक्षमा (बाहिरै) बसेर पनि रचनात्मक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा महामन्त्री पौडेलले पार्टी सभापतिमाथि लगाइएको भनिएको मिथ्या आरोपको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राख्नुभयो । कोही कसैले तर्साउँदैमा काँग्रेस नडराउने उल्लेख गर्दै उहाँले सरकारले पछिल्लो समय जनविश्वास (शाख) गुमाउँदै गएको दाबी गर्नुभयो । सोही क्रममा महामन्त्री पौडेलले नेता तथा कार्यकर्तालाई पार्टीको पद पाए वा नपाए पनि उत्तिकै जिम्मेवार बनेर संगठन सुदृढीकरणमा जुट्न निर्देशन दिनुभयो । उहाँले स्याङ्जा क्षेत्र नं. २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।
प्रदेश सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) को सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्यहरू सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, तिलक रानाभाट, युवराज पाण्डे, खुमाप्रसाद अर्याल, अनुप श्रेष्ठ, सुवास पौडेल, स्याङ्जा जिल्ला सभापति राजु थापा, क्षेत्रीय सभापति अर्जुनप्रसाद खनाल, क्षेत्र नं. २ (क) का सभापतिका उपविजेता छविलाल आलेलगायतले संगठन विस्तारमा जोड दिनुभएको थियो । वालिङ नगर सभापति पदमराज गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव राजु तिवारीले गर्नुभएको थियो ।





