आरती कुँवर
वालिङ, ८ असोज ।
नेपाली काँग्रेसले बुधबार देशैभर नगर तथा गाउँ महाअधिवेशन गरेको छ । यसअन्तर्गत स्याङ्जाका ११ वटा स्थानीय तहहरु मध्ये १० स्थानिय तहहरुमा १५ औं अधिवेशन सम्पन्न भएको छ । कालीगण्डकी गाउँपालिका बाहेक केही पालिकामा सर्वसम्मत र केही पालिकामा चुनाव मार्फत् गाउँ तथा नगर सभापति चयन गरिएको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । स्याङ्जाको मध्यभागमा रहेको वालिङमा चुनाव मार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।
बुधबार सहमतिमार्फत् सभापति चयन गर्ने प्रयास भएतापनि सभापतिका आकङ्क्षी पदमराज गुरुङ र बोधराज कुँवर (राजु)बीच सहमति हुन नसकेपछि मतदान मार्फत् सभापति चयन गरिएको नेपाली काँग्रेसका कार्यबहाक जिल्ला अध्यक्ष केदार काफ्लेले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको वालिङ नगर सभापतिमा पदमराज गुरुङ २६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकट्तम प्रतिस्पर्धी बोधराज कुँवर (राजु)ले २६६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपसभापतिमा यज्ञ प्रसाद अधिकारी २७७ मत र महिला उपसभापतिमा जुनु थापाले सर्वाधिक ३१५ मत प्राप्त गरी विजयी हुनुएको छ । प्रतिस्पर्धी जगदिश पाठकले २३० र सिता ढुङ्गाना अधिकारीले २१४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सचिव पदमा हुमनाथ अर्याल (वचन) २५४ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ, भने उहाँका प्रतिस्पर्धी बुद्धिसागर गैह्रेले २५३ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा एकनारायण कोईराला (उत्तम) ले २५७ मत ल्याएर जित दर्ता गराउनुभएको छ, जहाँ अर्का प्रतिस्पर्धी विष्णुबहादुर खवासले २३४ मत ल्याउनुभयो । ५५९ कुल मतदाता रहेकोमा ५४२ मत खसेको थियो ।
त्यस्तै नेपाली काँग्रेस भीरकोट नगरको नगरसभापतिमा नन्दलाल खनाल निर्वाचित हुनुभएको छ । खनालले १९४ मत र उहाँका प्रतिस्पर्धी ताराप्रसाद अर्यालले १६७ मत पाउनुभएको थियो । उपसभापतिमा मन बहादुर गुरूङ, महिला उपसभापतिमा पार्वती बस्नेत, सचिवमा हरी प्रसाद अर्याल, सहसचिवमा सूर्य अधिकारी चयन हुनुभएको छ । भीरकोटमा ३ सय ८५ मत खसेको थियो ।
यस्तै नेपाली काँग्रेसको पुतलीबजार नगर सभापतिमा सुरजकुमार अधिकारी २५९ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लेखनाथ शर्माले १९१ मत ल्याउनुभएको थियो । सचिवमा ख्यामकान्त अर्याल २४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रामप्रसाद लम्सालले १९१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सहसचिवमा पूर्णबहादुर गुरूङ दोर्जे विजयी हुनुभएको छ । दोर्जेले २९७ मत ल्याउदा उहाँका प्रतिस्पर्धी गौतमसिंह ठकुरीले १४४ मत प्राप्त गर्नुभयो । पुतलीबजारमा जम्मा ४९६ कुल मतदाता रहेकोमा ४५७ मत खसेको थियो ।
त्यसैगरी चापाकोट नगरपालिकाको काँग्रेस नगर सभापतिमा विक्रम सारु निर्वाचित हुनुभएको छ । सारुले २४२ मत ल्याउनुभएको थियो भने सभापति पदका अर्का आकङ्क्षीहरु विश्वास पुरीले ९८ र रामबहादुर श्रेष्ठ ले ५८ मत प्राप्त गर्नुभएको हो । २२३ मतसहित विश्व प्रकाश भट्टराई सचिवमा विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी दयाराम भण्डारीले ९१ र हरि डोटेलले ७१ मत ल्याउनुभयो । चापाकोटमा ४०४ मत खसेको थियो ।
उता गल्याङ नगर अधिवेशनबाट नेपाली काँग्रेस नगर सभापति पदमा श्याम प्रसाद बस्याल सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
आँधीखोला गाउँपालिकाको नेपाली कांग्रेस सभापतिमा अनिल ढकाल सर्वसम्मत चयन हुनुभएको छ । उप सभापतिमा नुवादत्त ढकाल, सचिवमा कलाधर पौडेल सहसचिवमा नीलकण्ठ उपाध्याय असिम चयन हुनुभएको छ भने कोषाध्यक्ष पछि मनोनीत गरिनेछ ।
यसैगरी हरिनास गाउँपालिकाको सभापतिमा बालकृष्ण सिग्देल सर्वसम्मत चयन हुनुभएको छ । हरिनास गाउँपालिकाको बुधबार सम्पन्न अधिवेशनबाट सिग्देल सर्वसम्मत सभापतिमा चयन हुनुभएको नेपाली काँग्रेसका नेता चन्द्र भट्टले जानकारी दिनुभयो । त्यसैगरी उपसभापतिमा बागधन राना र मुरली लम्साल चयन हुनुभएको छ । समितिको सचिवमा कृष्णप्रसाद लम्साल र सहसचिवमा विनय अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
यता अर्जुनचौपारीको सभापतिमा हरि काफ्ले निर्वाचित हुनुभएको छ । उहाँले ९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शालिकराम काफ्लेले ५६ मत प्राप्त गर्नुभएको हो । कुल १५८ जनाले मतदान गरेकोमा ३ मत बदर भएको थियो । फेदीखोलामा नेपाली काँग्रेसको सभापतिमा पुनः महेन्द्र थापा चयन हुनुभएको छ । बिरुवा गाउँपालिकाको सभापति पदमा लाल बहादुर हमाल निर्वाचित हुनुभएको छ । उता कालिगण्डकी गाउँपालिकामा सहमति हुन नसकेका कारण आज मतदान हुने भएको छ । सभापति पदमा ३ जना आकांक्षी खिमानन्द पाण्डे, नारायण भट्टराई र चक्रपाणी पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो ।





