प्रेम बहादुर थापा
स्याङ्जा, २४ भदौ ।
सामुदायिक रेडियो स्याङ्जा एफएमले अठारौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । विपदमा रेडियो सूचना, समन्वय र जीवनरक्षाको माध्यम बिषयक विपद सम्बाद कार्यक्रम सहित साधारणसभा गरिएको हो । सभाको उदघाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तिले रेडियोले आफनो विश्वसनीयता कायम राख्दै सत्य र तथ्य समाचार प्रशारण गर्नु पर्ने बताउनुभयो । सदरमुकाममा स्थापित स्याङ्जा एफएमले राजनीतिक, सामाजिक, आर्थिक एवं सबै प्रकृतिका समाचारलाई प्राथमिकताकासाथ प्रशारण गर्दै आएको र आउदा दिनमा पनि सबैको भावना जितेर अघि बढ्न सुझाव दिनुभयो । हालै आएको बाढीपहिराले धेरैधनजनको क्षति पुगेको जनाउदै प्राकृतिक तथा मानवीय त्रुटीका कारण हुन सक्ने बिपत्तीबाट जोगिन समयमै सचेत रहनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, राष्ट्रिय स्वतन्त्र पाटीका नगर सभापति वेदप्रसाद दोरंगाा, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष महेश पुरी, नेकपाका गण्डकी प्रदेश सदस्य नारायणप्रसाद लम्साल, सशस्त्र प्रहरी वलका प्रनाउ लक्ष्मणबहादुर बस्नेत, पूर्व जिविस सभापति रामबहादुर थापा, पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल, पूर्वअध्यक्ष चन्द्रमणी पौडेल, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य सहित विपदका अवस्थामा रेडियो सम्बाद कार्यक्रमको प्रभावकारिताका बारेमा आ आफना धारणा सहितका सुझाव ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा आपसी सहयोग केन्द्रका निर्देशक हरिप्रसाद ढकालले विपद सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष अमृतप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले स्वागत, कोषाध्यक्ष चन्द्रमणी पौडेलले धन्यवाद र प्रमुख ब्यवस्थापक रमेश गोदारले संचालन गर्नुभएको थियो । समुदायमा सुचनाको पहुँच विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ साल भदौ २३ गते देखि नियमित प्रसारणमा आएको रेडियो स्याङ्जा हाल दैनिक १८ घण्टा प्रशारण हुदैँ आएको छ ।





