वालिङ (स्याङ्जा) ।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्याङ्जाको वालिङमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। एल.आर. एकेडेमीको आयोजना तथा वालिङ युनाइटेड फुटबल क्लब र वालिङ युवा क्लबको सहकार्यमा उक्त शोक तथा प्रार्थना सभाको आयोजना गरिएको हो।

कार्यक्रममा बाढीका कारण अकालमा ज्यान गुमाउन बाध्य नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिका लागि दीप प्रज्वलन र एक मिनेट मौन धारण गरिएको थियो। सो अवसरमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बाढीमा परी घाइते भई विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, अझै पनि बेपत्ता तथा सम्पर्कविहीन रहेका नागरिकहरूको सकुशल उद्धार होस् भनी प्रार्थना गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा खेलकुद, सामाजिक तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य एल.बी. ज्वारचन, वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज गुरुङ, वालिङ युवा क्लबका अध्यक्ष केशरबहादुर थापा ‘राजन’, वालिङ युनाइटेड फुटबल क्लबका कार्यवाहक अध्यक्ष सुविन्द्र गुरुङ, फुटबल प्रशिक्षक दिलीप थापा, एल.आर. एकेडेमीका सनम थापा, क्षितिजराज जिटीलगायत स्थानीय खेलाडी, खेलप्रेमी एवम् सर्वसाधारणको उपस्थिति रहेको थियो।

विपत्तिमा परेकाहरूलाई ढाडस दिन र प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न खेलकुद तथा सामाजिक क्षेत्रका संस्थाहरू एकजुट भएर यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।





