तोलाकान्त बगाले
वालिङ, १ साउन ।
बढ्दो आधुनिकतासँगै कुनै बेला चलनचल्तीमा रहेको ‘लुतो फाल्ने’ संस्कृति हराउँदै गएको छ । साउने संक्रान्तिका दिन नेपाली हिन्दु परम्परा अनुसार मनाईने ‘लुतो फाल्ने’ चलन पछिल्लो समय हराउँदै गएको हो । ‘लुतो लैजा, पिलो लैजा…..’ भन्दै अगुल्टोलाई साँझपख घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर फाल्ने गरेको सम्झना वालिङ ८ कि ८० वर्षीया विष्णुमाया बगालेलाई अहिले पनि ताजै छ ।
“साउने संक्रान्तिका दिन लुतो फाल्ने भनेपछि दिनभर साथीभाई जम्मा भएर बनजंगलबाट विभिन्न झारपात तथा बनस्पतिहरु खोजेर जम्मा पारिन्थ्यो” उहाँले भन्नुभयो, “अचालकालाई त्यसको महत्व नै थाहा छैन, लुतो फाल्ने तिउँरी लगाउन छाडेर मेहेन्दी लगाउन थालेका छन् ।”
उ बेलामा धेरैजसोको खरका छाना भएका घरहरु हुने भएकाले अगुल्टो फाल्दा छानामा पर्न नदिनकालागि एकदम सचेत हुने गरेको पुरानो याद झलझली आईरहेको उहाँ बताउनुहुन्छ । साउने संक्रान्तिमा हातमा तिउँरी लगाउनकालागि तिउँरीका बिरुवाहरु घर वरिपरी प्रशस्तै लगाउने गरिएको वालिङ ८ कै फूलमति सुबेदीले बताउनुभयो ।

साउने संक्रान्तिका दिन सानैमा लुतो फाल्ने र हातमा तिउँरी लगाउने गरिएपनि आजभोलि लुतो फाल्नै छाडेको र तिउँरीको सट्टामा बजारबाट मेहेन्दी किनेर लगाउन थालेका उहाँले बताउनुभयो । “बनजंगल तथा घर वरपर भएका विभिन्न बनस्पति तथा झारपातहरु बटुलेर ल्याउने र साँझ सबै जम्मा भएर अगुल्टो फालेर हातमा तिउँरी लगाउने गथ्र्यौं” उहाँले भन्नुभयो, “तिउँरीको बिरुवालाई मसिनो गरी पिसेर विभिन्न बनस्पति तथा झारपातहरु मिलाएर कर्कलाको पातले छोपेर लगाउँथ्यौं ।”
कस्को बढी रातो हुने, राम्रो हुने भनेर प्रतिस्पर्धा नै हुन्थ्यो, आजभोलि त्यस्तो खोजेर कहाँ पाउनु, त्यो पनि बेला होईछ, त्यही रमाईलो थियो । खेतबारीमा हिला मैलो भएर काम गर्दा छालासम्बन्धीका रोगहरु लाग्न सक्ने भएकाले लुतो फाल्ने गरिएको जानकारहरु बताउँछन् । लुतो फाल्दा आ–आफ्नो परम्परा अनुसार नाङ्लो ठटाउने, शंख घण्ट बजाउने, ढिंकी कुट्ने, ढोका बन्द गर्ने जस्ता चलन छ ।
पछिल्लो समय कहीँकतै यो परम्परा आंशिकरुपमा रहेपनि धेरैजसो ठाउँमा पछिल्लो पुस्ताले आत्मसात गर्न नसक्दा यसको पहिचान र महत्वसँगै लोप हुने अवस्थामा पुगेको छ । आजभोलि लुतो फाल्ने संस्कृति हराउँदै गएको छ, संरक्षण नभएमा लोप हुने खतरामा पनि छ ।





