आँखाको शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण

0
1
Google search engine

वालिङ, ८ असार ।
आईकेयर फाउण्डेशनले गह«ौं प्राथमिक अस्पताल वालिङलाई आज आँखाको शल्यक्रियाकालागि आवश्यक पर्ने अत्याधुनिक उपकरण सहयोग गरेको छ । आईकेयर फाउण्डेशनले हिमालयन आँखा अस्पताल पोखरामार्फत उपलब्ध गराएको अत्याधुनिक उपकरण वालिङ नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।

Google search engine

गह«ौं प्राथमिक अस्पताल वालिङमा आँखाका बिरामीहरुको शल्यक्रिया हुँदा हिमालयन आँखा अस्पताल पोखराबाट उपकरण ल्याएर शल्यक्रिया गरिंदै आएकोमा अबदेखि अस्पतालमै शल्यक्रियाकालागि अत्यावश्यक उपकरण प्राप्त भएपछि सहज हुने भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो ।

“अस्पतालमा अत्याधुनिक उपकरण नहुँदा आँखाको शल्यक्रियाकालागि पोखराबाट उपकरण र चिकित्सकहरु आएर शल्यक्रिया गर्दै आएका थियौं” उहाँले भन्नुभयो, “उपकरण उपलब्ध भएपछि अब उपचारमा सहज हुने विश्वास लिएका छौं साथै सहयोगीहरुप्रति अस्पतालकोतर्फबाट धन्यवाद व्यक्त गर्दछौं ।”

आईकेयर फाउण्डेशनले हिमालयन आँखा अस्पताल पोखरामार्फत गह«ौं प्राथमिक अस्पताललाई शल्यक्रिया गर्दा अत्यावश्यक पर्ने अत्याधुनिक उपकरण उपलब्ध गराएको हिमालयन आँखा अस्पताल पोखराका निवर्तमान मेडिकल डाईरेक्टर एवम् आँखा रोग विशेषज्ञ डा. ईलिया श्रेष्ठले बताउनुभयो ।

“प्रत्येक पटक गह«ौं प्राथमिक अस्पताल वालिङमा हुने आँखाको शल्यक्रिया शिविरमा पोखराबाटै शल्यक्रियाकालागि आवश्यक पर्ने उपकरण लिएर आउने गरेका थियौं” उहाँले भन्नुभयो, “आँखाको शल्यक्रियाकालागि नभई नहुने अत्यावश्यक उपकरण अस्पताललाई प्राप्त भएपछि आगामी दिनमा शल्यक्रिया गर्नकालागि पोखराबाट उपकरणहरु लिएर आउनुपर्ने झण्झट हटेर गएको छ ।”

आँखामा लाग्ने मोतियाविन्दुका बिरामीको सर्जरी तथा ठूला–ठूला शल्यक्रिया गर्नकालागि यो उपकरण प्रयोग हुने उहाँले बताउनुभयो । शल्यक्रियामा अत्यावश्यक हुने यो उपकरण खरिद मुल्य अनुमानित २५ लाख रहेको जनाईएको छ ।

स्याङ्जा जिल्लाको मध्यभागमा रहेको वालिङमा रहेको यस अस्पतालमा स्याङ्जा जिल्लासहित दक्षिण पर्वत, पाल्पाको केही भागका बिरामीहरुले स्वास्थ्य सेवा लिने गरेका छन् । आँखाका बिरामीसँगै यस अस्पतालमा दैनिक झण्डै पाँच सय जनाले उपचार तथा परामर्श सेवा लिने गर्छन् । यस अस्पतालमा मोतियाबिन्दु तथा आँखाका बिरामीहरुको दैनिक स्वास्थ्य परीक्षण तथा परामर्श गर्ने र मासिकरुपमा आँखाका बिरामीहरुको शल्यक्रिया गरिंदै आएको छ ।

Google search engine