वालिङ, २८ जेठ । स्याङ्जाको वालिङमा ‘श्याम स्मृति फुटबल प्रतियोगिता’ सुरु भएको छ। वालिङ युवा क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगिता असार १ गतेसम्म सञ्चालन हुनेछ। वि.सं. २०५१ असार २३ गते वालिङ खेलमैदानमा फुटबल खेलिरहेकै अवस्थामा चट्याङ लागेर ज्यान गुमाएका स्थानीय श्याम थापाको सम्झनामा क्लबले यो प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगिताको उद्घाटन स्वर्गीय थापाकी श्रीमती एवं रेडियो आँधीखोला एफएमकी अध्यक्ष शान्ता थापाले बिहीबार वालिङ खेलमैदानमा गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले फुटबल विश्वकै लोकप्रिय खेल भएको र यसले युवाहरूको व्यक्तित्व विकाससँगै राष्ट्र निर्माणमा योगदान पुर्याउने बताउनुभयो। वालिङ क्षेत्रले दर्जनौँ राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको चर्चा गर्दै उहाँले सहभागी टोलीहरूलाई अनुशासन र खेल मर्यादाभित्र रहेर प्रतिभा प्रदर्शन गर्न आग्रह गर्नुभयो। साथै, आफ्ना श्रीमानको सम्झनामा प्रतियोगितालाई ब्युँताएर क्लबले देखाएको सम्मानप्रति उहाँले परिवारका तर्फबाट आभार व्यक्त गर्दै सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

वि.सं. २०५२ सालदेखि सुरु भएको यो प्रतियोगिता २०५७ सालमा छैटौँ संस्करण सम्पन्न भएपछि रोकिँदै आएको थियो। लामो अन्तरालपछि स्थानीय खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यसलाई पुनः निरन्तरता दिइएको आयोजक वालिङ युवा क्लबका अध्यक्ष केशरबहादुर थापा (राजन) ले जानकारी दिनुभयो। उहाँले प्रतियोगिता सफल पार्न संस्थागत एवं व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो।

वालिङ नगरपालिका मुख्य प्रायोजक एवं संरक्षक रहेको यस प्रतियोगितामा स्याङ्जा, पाल्पा र पर्वतका गरी कुल १० टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले नगद रु. १ लाख तथा उपविजेताले रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रथम पुरस्कारको सौजन्य हाल यूकेमा रहनुभएका माँझकोटका खिम गुरुङले र द्वितीय पुरस्कारको सौजन्य स्वर्गीय श्याम थापाका पिता घने थापाले गर्नुभएको छ। प्रतियोगिताबाट बचत हुने रकमले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी खुल्ला व्यायामशाला (ओपन जिम) निर्माण गर्ने योजना रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिनुभयो।





