वालिङ, ८ बैशाख । विद्यार्थीहरुले गरेका विभिन्न विज्ञानका आविष्कारलाई स्याङ्जामा प्रदर्शन गरिने भएको छ । विज्ञान एवम् नविन प्रवर्तन क्षेत्रको कुनै आविष्कार, निर्माण वा खोज गरेका विशेष प्रतिभा भएका जिल्ला भित्रका विद्यार्थीहरुले आफ्नो सीप एवम् आविष्कारको प्रदर्शन गर्न सक्नेछन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा यही वैशाख महिनाको ३१ गते स्याङ्जा सदरमुकाममा हुने प्रतियोगितामा आफ्नै ज्ञान, सीप र कल्पनाशक्तिको प्रयोग गरी बनाएका विभिन्न वैज्ञानिक सामग्री, मोडल तथा परियोजनाहरू सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने भएको छ । विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुनेको साथै सिर्जनशीलता र नवप्रवर्तनको विकास भई भविष्यमा वैज्ञानिक, इन्जिनियर वा अनुसन्धानकर्ताको रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नु भयो ।
साथै कार्यालयले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुबीच विज्ञान सामाग्री प्रदर्शनी प्रतियोगिता पनि हुने भएको छ । विज्ञानको प्रयोगात्मक ज्ञानको अन्तरनिहिन प्रतिभा प्रस्फुटनको लागि बालबालिका समूहको जिल्लास्तरीय विज्ञान सामाग्री प्रदर्शन प्रतियोगिता समेत गर्न लागिएको कार्यालयले जनाएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा उत्कृष्ट प्रत्येक स्थानीय तहका दुई वटा विद्यालय गरी २२ वटा टिम कार्यक्रमा सहभागि हुने छन् । कार्यक्रममा प्रथम,द्धितीय, तृतीय र सान्तवना हुन सफल विद्यालयलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कार्यालयले जनाएको छ ।





