स्याङ्जा–२ मा रास्वपाका डुम्रे बिजयी

0
120
Google search engine

वालिङ, २५ फागुन ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित हुनुभयो । डुम्रेले २५ हजार ३५४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत प्राप्त गर्नुभयो । रास्वपाका डुम्रे चार हजार ५२४ मतान्तरले विजयी हुनुभएको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिनुभयो । विजयी डुम्रेलाई हिजो मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
वालिङ १४ का डुम्रे यसअघि २०७० को निर्वाचनमा समानुपातिक उम्मेदवार रहनुभएको थियो । रास्वपाका प्रदेश इन्र्चाज हुँदै अहिले केन्द्रिय संगठन विभाग सदस्य रहनुभएको छ । आईटि क्षेत्रमा कार्यरत डुम्रेले आईटि क्षेत्रको विकासबाट युवा पलायन रोक्न र ग्रामिण अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ अगाडि बढ्नुभएको छ ।
क्षेत्र नं. २ मा कुल मतदाता १ लाख १७ हजार ९३० मध्ये ६४ हजार ९२८ जनाले मतदान गरेका थिए । मतदानमा सहभागि ६४ हजार ९२८ मध्ये ६२ हजार २२६ मत सदर रहेको थियो भने २ हजार ६६२ मत बदर भएको थियो ।
निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्माले ८४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठकले ५६६ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रेले ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै मङगोल नेशनल अर्गनाईजेसनका खर्कबहादुर थापाले १३२, नेशनल रिपब्लिक पार्टीका तेजबहादुर थापाले २००, जय मातृभुमि पार्टीका धनबहादुर थापाले १६, राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले ६५, स्वतन्त्रद्धोय खिमबहादुर क्षेत्रिले ६७ र सागर थापा मगरले ९ मत प्राप्त गर्नुभएको छ । यसअघि क्षेत्र नं. १ मा पनि रास्वपाकै डा. धनन्जय रेग्मी निर्वाचित हुनुभएको थियो ।

Google search engine
Google search engine