वालिङ, २३ फागुन ।
स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी भारी मतसहित बिजयी हुनुभएको छ । आज शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपाका डा. धनञ्जय रेग्मीले कूल २९ हजार ७१ मत प्राप्त गरी बिजयी हुनुभएको हो । स्याङ्जा क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार डा. रेग्मीले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार ढकालले १८ हजार ८५७ मत ल्याएर दोस्रो हुनुभएको हो । नेकपा एमालेका मीनप्रसाद गुरुङ १६ हजार ८०४ मत प्राप्त गर्दै तेस्रो हुनुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९, मंगोल नेशनल अर्गनाईजेसनका यामबहादुर गुरुङले २१६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १७६ मत, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियार ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३०, स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गर्नुभयो । स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा २ हजार ९०८ मत बदर भएको थियो ।





