आरती कुँवर
वालिङ, १५ माघ ।
नवौँ वालिङ महोत्सव बुधबारदेखि शुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा वालिङ, ८ खेलमैदानमा हिजोदेखि शुरु भएको हो । नवौँ वालिङ महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै ढकालले विश्वका विकसित मुलुकाले गर्ने कार्यका तुलनामा हामी निकै नै पछाडि रहेको भन्दै निराश हुनुपर्ने अवस्था नै नआएको तर एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिलाई त्यागेर हरेक व्यक्तिले आफ्नो कर्तव्य पूरा गरेमा हामीले खोजेको समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, वालिङ नगरप्रमुख कृष्ण खाँण, निर्वतमान नगरप्रमुख दिलिपप्रताप खाँण, जिल्ला नगर उद्योग वाणिज्य संघतर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्की, वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा महोत्सवका निर्देशक शोभाकान्त पौडेल, पत्रकार प्रकाश डुम्रेलगायतले
संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षता गरिएको उद्घाटन कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारी, धन्यवाद उपाध्यक्ष खगेन्द्र प्रसाद अर्याल र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।
महोत्सवमा प्रमुख आर्कषणको रुपमा लोपोन्मुख परम्परागत घुमाउने घर, मम्मी डान्स आइडल, जलपरी लगायत रहेका छन् भने अन्य विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा बालउद्यान, राष्ट्रिय एवम् स्थानिय कलाकारको दैनिक प्रस्तुति रहने छ । महोत्सवमा ५० वटा स्टल कृषि तथा हस्तकलाका लागि निःशुल्क रहेको छ भने औद्योगिक तथा व्यापारिक गरी ४ सय बढी स्टलहरु रहेका छन् । बुधबारदेखि शुरु भएको महोत्सव माघ २५ गते अर्थात् १२ दिन सम्म चल्नेछ ।





