वालिङ, ९ माघ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा ज्योती आधारभूत विद्यालय पुतलीबजार नगरपालिका वडा नं. ३ का बालबालिकाहरुलाई बालसाहित्य पुस्तक वितरण तथा शैक्षिक एंवम् खेलकूद सामाग्री वितरण गर्नुको साथै नैतिक शिक्षाको विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । साथै आज परेको राष्ट्रिय पुस्तक दिवसको अवसरमा सम्पन्न कार्यक्रममा विद्यालयका बालबालिकाहरुलाई ३० वटा बालसाहित्य पुस्तक वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बालबालिकालाई विद्यालयमा रमाइ रमाइ पुस्तक पढ्ने बानीको विकास गरी सामाजिक सद्भाव, संस्कृति, मूल्य मान्यता, प्रकृति आत्मीयता, श्रम प्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बालसाहित्य पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँको विद्यार्थी जीवनमा अनुशासन पूर्वक महेनतको साथ आफ्नो अध्ययन र आफ्नो रुची अनुसारको अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरु सक्रिय हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले देशभक्ति तथा अनुशासनको महत्व सम्बन्धी गायन तथा नृत्य प्रस्तुत गरेका थिए । उनीहरुलाई कार्यालयको तर्फबाट नगद पुस्कार सहित सम्मान गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत सुरेश सुवेदी, विद्यालयको प्रध्यानाध्यापक निर्मला गोदारले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षिका हरिकला पोखरलेले गर्नुभएको थियो । सरस्वती पूजाको दिन हरेक वर्ष राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायीको आव्हानमा राष्ट्रिय पुस्तक दिवस पनि मनाइदै आईएको छ ।






