वालिङमा स्तनपान संरक्षण र कृत्रिम दुध नियन्त्रण सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखिकरण

0
197
Google search engine

आरती कुँवर
वालिङ, ९ माघ ।
स्याङ्जाको वालिङमा शिशुको स्वास्थ्य रक्षा र स्तनपानको महत्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन तथा स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुका लागि कार्यक्रम आयोजना गरिएको हो । वालिङ नगरपालिकामा शुक्रबार आयोजित उक्त कार्यक्रममा आमाको दुधको विकल्पमा प्रयोग गरिने वस्तुहरुको अनियन्त्रित बिक्री वितरणले जनस्वास्थ्यमा पारेको जोखिम र यसलाई कानुनी रुपमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा केन्द्रित अभिमुखिकरण तथा छलफल गरिएको थियो ।
कार्यक्रममा शिशुको सर्वाङ्गीण विकासका लागि जन्मिएको १ घण्टा भित्र, ६ महिनासम्म स्तनपान र त्यसपछि अन्य पूरक आहारका साथै कम्तीमा दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य रहेको जनाकारी दिईएको थियो । यस्तै बजारमा उपलब्ध हुने शिशु आहार (फर्मुला मिल्क) को बढ्दो प्रयोग र त्यसका भ्रामक विज्ञापनहरुलाई नियन्त्रण गर्न ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने विषयमा समेत जानकारी दिईएको थियो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत सृष्टि लम्सालले स्तनपानको महत्व र विश्व तथा नेपालमा बच्चा जन्मिएको १ घण्टाभित्र, ६ महिना र २ वर्षसम्म स्तनपान गराउनेको अवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो । यस्तै वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले २०४९ को ऐन अनुसार आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्नेलाई कानुन अनुसार हुने दण्ड र सजायका बारेमा र बजार अनुगमनको प्रक्रियाका बारेमा जनस्वास्थ्य स्याङ्जाका मित्र अर्यालले सहजीकरण गर्नुभएको थियो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख राम बहादुर नेपालीले स्तनपानले बच्चा र आमा दुवैको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने भएकाले आमाको दुध अमृत समान मानिएको बताउनुभयो । साथै उहाँले स्तनपानको महत्व तथा ऐनका बारेमा सम्पुर्णलाई जानकारी गराउदै जनचेतना जगाउन सरोकारवालाहरु सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रमुख नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मित्र अर्यालले गर्नुभएको थियो भने कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
समग्रमा पछिल्लो समय स्तनपान गराउनेको संख्या घट्दो र बजारमा पाइने फर्मूला मिल्कको प्रयोग बढ्दो अवस्थामा रहेको र आमाको शैक्षिक अवस्था तथा परिवारको आर्थिक अवस्थाले पनि स्तनपानमा फरक पारेको पाईएको छ । यसले सन्ततीको शारीरिक वृद्धि विकासदेखि मानसिक स्वास्थ्यमा समेत गम्भिर असर पार्ने भएकाले बच्चा जन्मिएको १ घण्टाभित्र र ६ महिना सम्म आमाको दुध खुवाउनुपर्ने साथै थप पूरक आहारसंगै २ वर्षसम्म स्तनपान गराउन सबै सचेत हुनुपर्ने देखिएको छ ।

Google search engine
Google search engine