रेडियो आँधीखोला
वालिङ, १ माघ ।
स्याङ्जामा शिक्षक र विद्यार्थीको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा शिक्षक र विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि जिल्लाभित्रका स्थानीय तहमा उत्कृष्ट भएका शिक्षक र विद्यार्थीको प्रतियोगितामा बुधबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको हो । प्रतियोगितामा शिक्षकतर्फ दहथुम माध्यमिक विद्यालय भिरकोटका चन्द्रकान्त उपाध्याय “मिलन समिर” प्रथम हुनुभएको छ । भानु मा.वि. चापाकोटका नारायण पौडेल द्धितीय हुनुभएको छ भने तृतीय काजिमान हरिटिका मा.वि. पुतलीबजारका नारायण रेग्मी र सार्वजनिक सान्त्वना स्थान नमुना मा.वि. गल्याङका नविना चापागाईले प्राप्त गर्नुभएको छ ।
यस्तै विद्यार्थीतर्फ काजिमान हरिटिका मावि पुतलीबजारकी छात्रा युनिका भुजेलले प्रथम, जनता मा.वि. कालीगण्डकीकी छात्रा दिपिका भट्टराई द्धितिय, बैडी मा.वि. चापाकोटकी छात्रा आरती बस्याल तृतिय र महिमा मा.वि. हरिनाशका छात्र सिद्धान्त सिग्देल सान्त्वना हुनुभएको छ ।

कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुन सफल शिक्षक र विद्यार्थीलाई क्रमशः रु ६ हजार, ४ हजार, ५ सय, ३ हजार र २ हजार नगद एवं प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै शिक्षा विकास समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले यस किसिमको कार्यक्रमले शिक्षकको क्षमता विकास एवम् विद्यार्थीको सिकाइमा बृद्धि हुनुका साथै अन्तरनिहित प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने बताउनुभएकिकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले प्रतियोगिताले विद्यार्थी र शिक्षकको ज्ञानको दायरा विस्तार हुनुका साथै नेतृत्व कलामा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा मूल्याङ्कनकर्ताको रुपमा भगवती नमुना मा.वि.का शिक्षक रामप्रसाद पाण्डे, वालिङ बहुमुखी क्याम्पस उपप्रध्यापक इन्दु श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत सुरेश सुवेदी रहनुभएको थियो । एकिकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालयका सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले गर्नुभएको थियो ।






