नानी–शुक शिक्षा पुरस्कारबाट काफ्ले सम्मानित

0
170
Google search engine

पोखरा, २८ असोज ।

Google search engine

नानी–शुक स्मृति प्रतिष्ठान, पोखराद्वारा सञ्चालित ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार’ बाट स्याङ्जाका शिक्षासेवी तथा समाजसेवी तेजप्रसाद काफ्ले सम्मानित भएका छन् ।
मंगलबार प्रतिष्ठानको २१ औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोहमा काफ्लेलाई नगद २५ हजार ५२५ रूपैयाँ साथमा ताम्रपत्रसहित सम्मान गरियो ।
प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ८५ वर्षीय काफ्लेलाई सम्मान अर्पण गर्दै शिक्षाको महत्वबारे प्रकाश पारे । उनले बाबुआमालाई  ठूलो केही दिन नसके पनि न्यूनतम सेवासुविधा दिनुपर्ने बताए । थकाली जाति मिलेर बस्ने जाति भएको उल्लेख गर्दै लुकेर रहेका संस्कृति, परम्परालगायतका विषयबारे विश्वविद्यालयको पाठ्यक्रममा पनि समेट्न सकिने बताए ।
धर्मगुरू मीन गुरूङले बाबुआमाप्रति गर्ने आदर सत्कार जीवनपर्यन्त गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ महासचिव शोभा गौतम, सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रवीन्द्र माकाजूले शुकबहादुर र नानीमाया हिराचनको स्मरण गर्दै प्रतिष्ठानको कार्यक्रमको प्रशंसा गरे ।
सम्मानित व्यक्तित्व काफ्लेले पुरस्कार वितरण समारोहलाई यज्ञको संज्ञा दिँदै आफू सम्मानित हुन पाएकोमा संस्था र परिवारप्रति आभार व्यक्त गरे । वालिङ–२ निवासी काफ्ले वालिङ बहुमुखी क्याम्पसका संस्थापक हुन् । चार भाषाका ज्ञाता उनको शिक्षा क्षेत्रमा अतुलनीय योगदान छ । कार्यक्रममा सम्मानित व्यक्तित्वकै माहिला छोरा भाष्करप्रसादले बाबुको परिचय गराएका थिए ।
प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बाबुआमाको भावनासँग मिल्ने गरी शिक्षा क्षेत्रमा केही गर्ने उद्देश्यका साथ २१ वर्षअघि प्रतिष्ठान स्थापना गरिएको प्रस्ट पारे । उनले शिक्षाबाटै समाज परिवर्तन हुने उल्लेख गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । साथै, आमाबुवाको स्मरणमा गीत प्रस्तुत गर्दा सबैजना स्तब्ध बनेका थिए ।
प्रतिष्ठानका अध्यक्ष तारानाथ गौतम ‘पाखे’ को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हेरम्बप्रसाद कोइराला र संचालन सुकु हिराचनले गरेकी थिइन् ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई सम्मानित गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दैआएको छ । त्यसका लागि २०६२ सालमा शुकबहादुर र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरेका थिए ।
प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्यहरु पुण्यबहादुर हिराचन, दीर्घसिंह लालचन, ज्ञानेन्द्रकुमार लालचन, पूर्णबहादुर हिराचन र संरक्षक वीरेन्द्र हिराचन रहेको ६ सदस्यीय प्रतिभा छनोट समिति समितिले काफ्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । यसअघि, यो पुरस्कारबाट भक्ति हिराचन (मुस्ताङ), अनन्तनाथ पौडेल (कास्की), पद्मराज कोइराला (कास्की), दीव्यरमण अर्याल (तनहुँ), पद्मसिं विश्वकर्मा (बागलुङ), कृष्णप्रसाद पौडेल (अर्घाखाँची), पूर्णभद्र नेउपाने (लमजुङ), लोकनाथ आचार्य (पर्वत), नैनकुमार श्रेष्ठ (म्याग्दी) सम्मानित भइसकेका प्रतिष्ठान सचिव मखनलाल हिराचनले जानकारी दिए । गत असोज १ मा हुने भनिएको वार्षिकोत्सव एवं सम्मान समारोह जेनजी आन्दोलनका कारण पछि सरेको हो । 

Google search engine