तोलाकान्त बगाले
वालिङ, २९ असोज ।
यहाँको एक सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमकालागि नर्सरी स्थापना गरी विरुवा उत्पादन थालिएको छ । स्याङ्जाको वालिङ नगरपालिका १० फूलबारीमा अवस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालय र वालिङ १० भकुण्डेमा रहेको न्यू गाउँबेशी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा नर्सरीमार्फत बिरुवा उत्पादन गरिएको हो ।
सहकारीमार्फत नर्सरी स्थापना तथा विभिन्न प्रजातिका बेर्ना उत्पादनकालागि आर्थिक सहयोग तथा बजारीकरण गर्ने सहकारीका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । “सहकारी संस्थाले नाफा कमाउनेमात्रै नभई विभिन्न रचनात्मक र आय आर्जनसँग जोड्नकालागि उत्प्रेरणा प्रदान गर्नुपर्छ भन्ने लागेर विद्यालयसँग सहकार्य गरेर बेर्ना उत्पादन गर्दै आएका छौं” उहाँले भन्नुभयो, “बेर्ना उत्पादनकालागि लगानी तथा बजारीकरणको जिम्मा सहकारीले लिएको छ भने उत्पादन कार्य विद्यालयका विद्यार्थी तथा प्राविधिक शिक्षकहरुले गर्दै आउनुभएको छ ।”
उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारीका बेर्ना, फलफूलका बिरुवाहरु सहकारीले बजारीकरण गर्दै आएको छ । बिक्री भएको मध्ये नाफाको ७० प्रतिशत विद्यार्थीलाई र ३० प्रतिशत सहकारी र विद्यालयलाई उपलब्ध गराईने अध्यक्ष खनालले बताउनुभयो ।
“यो अभ्यास संभवत जिल्लामै पहिलो र नयाँ रहेको छ” उहाँले भन्नुभयो, “स–साना विद्यार्थीले विद्यालयमा सिकेको सीपलाई घरमा पनि प्रयोग गरेर ब्यावसायिक बन्नकालागि पनि सहयोगी हुने विश्वास हाम्रो छ ।”
बेर्ना बिक्रीबाट भएको आम्दानीबाट विद्यार्थीले शैक्षिक सामग्री खरिद तथा विद्यालयमा दिवा खाजामा प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।
विद्यालयमा सञ्चालित बाली विज्ञान कक्षामा अध्ययनरत कक्षा ९ का विद्यार्थी तथा प्राविधिक शिक्षकहरुको सहजीकरणमा बिरुवा÷बेर्ना उत्पादन गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो ।
“विद्यालय परिसरमै नर्सरी स्थापना गरी कृषिमा आधुनिक प्रविधिको प्रयोगमार्फत मौसमी तथा बेमौसमी तरकारी तथा फलफूलका बिरुवाहरु उत्पादन गर्न थालेका छौं” उहाँले भन्नुभयो, “विद्यालयमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान सिक्ने र त्यसलाई घर तथा समुदायमा पनि प्रयोगमा ल्याई उद्यमशीलताको विकास गर्नमा सहयोग पुग्ने अपेक्षा विद्यालयको छ ।”
पहिलो चरणमा यसै शैक्षिक सत्रबाट सुरु भएको नर्सरीलाई आगामी दिनहरुमा थप ब्यवस्थित गरी विस्तार गर्दै लगिने प्रअ लम्सालले बताउनुभयो । अहिले विद्यार्थीले काउली, ब्रोकाउली, बन्दा लगायतका बेर्ना उत्पादन गरेका हुन् । आगामी दिनमा यसलाई निरन्तरता दिंदै च्याउ तथा अन्य नगदेबालीका कार्यक्रमहरु विस्तार गर्दै लगिने तयारीमा रहेको प्रअ लम्सालले बताउनुभयो ।





