आरती कुँवर
वालिङ, २३ असार ।
स्याङ्जाको भीरकोट नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले बुधबार नगरपालिकाको सिटिहलमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी एसईई उतिर्ण भएका भीरकोटका १७ विद्यालयका २६० जना विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो । विद्यार्थीहरूलाई प्रोत्साहन गर्न बधाई तथा सम्मानका लागि नगरपालिकाले विशेष सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एसईई उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । “उहाँले भन्नुभयो, विद्यार्थीहरू राष्ट्रको उज्ज्वल भविष्य हुन्, यस प्रकारका कार्यक्रमले उनीहरूलाई अझ आत्मविश्वासी र लक्ष्यप्रति प्रतिबद्ध बनाउँछ ।” समग्र नगरको विकासका लागि विभिन्न क्षेत्रको विकास हुनु अति आवश्यक भएकाले शिक्षा क्षेत्रको विकासका लागि पनि नगरपालिका प्रतिवद्ध रहेको भन्दै विद्यालय सँगसँगै विद्यार्थीहरुलाई पनि प्रोत्साहन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै भीरकोट नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोईरालाले शिक्षाको एक खुड्किला भनेको एसईई भएको र यो जस्तै अब आउने शिक्षाको अरू खुड्किलाहरु पार गर्दै देशको लागि सक्षम तथा योग्य जनशक्ति बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शिक्षकलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम भीरकोट नगर शिक्षा शाखा प्रमुख कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालमैत्री सहजकर्ता विष्णु माया काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रमाणपत्र, खादा तथा डायरी, पेन सहितले सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावक, विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिती थियो ।






