तोलाकान्त बगाले
वालिङ, ५ भाद्र ।
वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीलाई ‘साहित्यदूत मनास्लु’ पुरस्कारबाट सम्मानित गरिने भएको छ । विश्वका विभिन्न देशमा रहनुभएका साहित्यकारहरुको पहलमा १५ वर्ष अघि स्थापना भएको विश्व नेपाली साहित्य महासंघले नेपाली भाषा साहित्यका क्षेत्रको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै साहित्य दूतकारुपमा उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
आगामी कार्तिक १० र ११ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिमा सम्मान प्रदान गरिने महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले बताउनुभयो ।
विश्वमा आठ हजार उचाईमाथिका १४ वटा हिमालहरुमध्ये ८ वटा नेपालमा रहेका र तिनै आठ वटा हिमालहरुको नाममा साहित्यदूत सम्मान प्रदान गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष, पुतलीबजार नगरपालिका प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् रजस्थल साहित्यिक त्रैमासिक पत्रिकाका प्रधान सम्पादक रहनुभएका अधिकारीले नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ । नेपाली साहित्यका क्षेत्रमा अनवरतरुपमा लागेकैकारण उच्च मूल्याङ्कन गर्दै महासंघले सम्मान गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लिम्बुले बताउनुभयो ।
विश्वभरका विशिष्ट विद्धान साहित्यकारहरुको उपस्थितिमा आँफू सम्मानित हुन पाउनु आफ्नालागि गर्वको कुरा भएको साहित्यकार अधिकारीले बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको सम्मान आफ्नालागि प्रदान हुने कुरा सुनेपछि खुसी र थप उर्जा मिलेको बताउँदै उहाँले छनोट गरेकोमा महासंघप्रति आभार ब्यक्त गर्नुभयो । स्याङ्जालाई कार्यक्षेत्र बनाएर साहित्यिक क्षेत्रमा योगदान दिने साहित्यकारहरुमध्ये अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गर्नु जिल्लावासीकालागि पनि गर्वको कुरा भएको भएको नेपाली लेखक संघ स्याङ्जाका संस्थापक अध्यक्ष बुद्धिबहादुर राना (कुमार) ले बताउनुभयो ।
संभवतः नेपाली साहित्यका क्षेत्रमा उहाँ नै अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गर्ने पहिलो स्याङ्जाबासी भएको दावी उहाँको छ । वरिष्ट साहित्यकार अधिकारीको सम्मानले सिङ्गो स्याङ्जाली साहित्य क्षेत्रलाई उर्जा मिलेको ठहर उहाँको छ । नेपाली साहित्य महासंघ विश्वका २५ वटा देशमा राष्ट्रिय शाखाकोरुपमा रहेको छ । नेपालका सात वटै प्रदेशमा प्रदेश शाखा तथा केही जिल्लामा जिल्ला शाखा गरी कूल ५१ शाखा तथा उपशाखाहरुले नेपाली भाषा साहित्यका क्षेत्रमा काम गरिरहेका छन् । महासंघले हालसम्म नेपाली, अंग्रेजी, हिन्दी, रसियनलगायतका भाषाहरुमा ७० भन्दा बढी पुस्तकहरु प्रकाशित गरिसकेको छ ।





