ताम्रपत्रलाई जग्गादाताले छोपिदिए

0
241
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, ५ भदौ ।
ईलाका प्रशासन कार्यालय वालिङको नवनिर्मित भवनमा टाँसिएको ताम्रपत्रलाई स्थानीय जग्गादाताले छोपिदिएका छन् ।
नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालले आईतबार उद्घाटन गर्नुभएको भवनमा टाँसिएको ताम्रपत्रलाई स्थानीय जग्गादाता तथा गाउँलेहरुले सेतो कपडाले छोपिदिएका हुन् ।
गएको असार २२ गते भवनको उद्घाटन गर्ने भनिएकोमा अविरल वर्षाले धनजनको क्षति भएपछि भवन उद्घाटन कार्यक्रम स्थगित भएको थियो ।
असार २२ कै मितिमा तयार भएको ताम्रपत्र गृहसचिवको उपस्थितिमा गत आईतबार नवनिर्मित भवनमा टाँसिएपछि स्थानीय जग्गादाता आक्रोशित भएका हुन् ।
जग्गादाताहरुले निशुल्करुपमा भवन निर्माणकालागि जग्गा उपलब्ध गराएतापनि सीमित ब्यक्तिहरुको उपस्थितिमा जग्गादाता तथा स्थानीयहरुलाई जानकारी नै नदिई उद्घाटन गरिएको भन्दै ताम्रपत्रलाई सेतो कपडाले बाहिरबाट छोपिदिएका हुन् ।
“उद्घाटन गर्ने ब्यक्तिकाबारेमा हाम्रो विरोध होईन, मात्रै प्रक्रिया मिलेन, सबैलाई थाहा दिएर गरेको भए हुन्थ्यो भन्ने हो” जग्गादाता ध्रुबराज पंगेनीले भन्नुभयो, “जग्गादाता तथा स्थानीयलाई कुनै जानकारी नै नदिई सुटुक्क उद्घाटन नगरौं भब्य र ब्यवस्थित तरिकाले गरौं भन्ने हाम्रो माग हो ।”
जग्गादाताहरुले सामाजिक सञ्जालमार्फत भवन उद्घाटन भएको थाहा पाउनु दुःखद भएको बताउनुभयो । जग्गादाताहरुले सेवाग्राहीहरुको सहजताकालागि जग्गा निशुल्क उपलब्ध गराएको तर प्रशासनले जग्गादाता तथा स्थानीयको उपस्थिति विनानै भवन उद्घाटनले वेवास्ता तथा स्थानीयलाई अपमानित गरेको भान भएको उहाँले बताउनुभयो ।
जग्गादाताहरुले सबै स्थानीय तथा जग्गादाताहरुको उपस्थितिमा पुनः गृहसचिवबाट नै भवनको भब्य र सभ्यरुपमा उद्घाटन गर्न माग गर्दै प्रशासनमा मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय ध्रुबराज पंगेनी, कपिलदेव शर्मा पंगेनी, विष्णुप्रसाद पंगेनी र खड्ककुमारी खाँणले दश वर्ष अगाडि जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो ।

Google search engine
oppo_2

बुधबार ईलाका प्रशासन कार्यालय वालिङमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको पहलमा स्थानीय जग्गादाता, राजनीतिक दल, सञ्चारकर्मीहरुको उपस्थितिमा छलफल भएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी नेपालले गृहसचिव आफ्नो अनुकुल समयमा स्थानीय जग्गादाताहरुसँग समन्वय तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाउनुभयो । जिल्ला प्रशासन कार्यालय, जग्गादाता, राजनीतिक दलहरु तथा सरोकारवालाहरुकाबीच ताम्रपत्रलाई छोपिएको कपडा हटाउने विषयमा छलफल भएपनि आज नै कपडा हटाउने विषयमा जग्गादाताहरु सहमत भएनन् ।

Google search engine