काँग्रेस महाधिवेशन प्रतिनिधिमा शान्ता थापाको उम्मेदवारी

0
28
Google search engine

आरती कुँवर
वालिङ, ९ असोज ।
नेपाली काँग्रेसको आसन्न १५ औं महाधिवेशनलाई लक्षित गर्दै पार्टी राजनीतिमा सक्रिय महिला नेत्री शान्ता थापाले स्याङ्जा क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ८ की स्थायी वासिन्दा थापा लामो समयदेखि सामाजिक, राजनीतिक, महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको एक परिचित व्यक्तित्व हुनुहुन्छ। अदम्य साहस र सशक्त व्यक्तित्वको पर्याय थापा युवा वर्ग, पार्टी कार्यकर्ता साथै महिला वर्गमा प्रेरणाको स्रोत बन्नुभएको छ ।
कठिन भन्दा कठिन परिस्थितिहरुलाई आफ्नो साहसले दबाएर हिमाल झैँ अडिग बन्न समयले सिकाएको थापा २२ वर्षको लामो र गहिरो अनुभवले राजनीतिमा नेतृत्व गर्न सक्षम र योग्य बनाएको छ । निरन्तर सामाजिक राजनीतिक एवम् महिलावर्गको आवाजलाई विभिन्न मिडियामा लेख, रचना र विचारमार्फत प्रकाशित गर्दै आउनुभएको छ ।

Google search engine

शान्ता थापाको जीवनयात्रा केवल राजनीतिक वा पेसागत सफलतामा मात्र सीमित छैन, यो असाधारण संघर्ष र अटुट साहसको एक जीवन्त गाथा पनि हो। मात्र १७ वर्षको कलिलो उमेरमा जीवनका अनपेक्षित मोड र कठिन जिम्मेवारीहरूको सामना गर्दै उहाँले एकल आमाको भूमिका सम्हाल्नुपर्यो । जीवनका कठिनभन्दा कठिन घडीहरूमा हिमालझैँ अडिग र दृढ बन्दै उहाँले हरेक चुनौतीलाई अवसरमा बदल्नुभयो। उहाँको यही संघर्षशील स्वभाव र अठोटले नै उहाँलाई आज समाजमा एक प्रेरणादायी महिला नेतृत्वको रूपमा स्थापित गरेको छ।

शिक्षा र समाजसेवा मात्रै होइन, सञ्चार जगतमा पनि शान्ता थापा एक चम्किलो ताराको रूपमा चिनिनुहुन्छ। करिब ५ वर्षसम्म टेलिभिजन सञ्चार माध्यममा सक्रिय रहेर काम गर्नुभएकी उहाँ हाल स्याङ्जा जिल्लाकै पहिलो र प्रतिष्ठित सामुदायिक रेडियो आँधीखोला एफएम को अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। साथै, उहाँ सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को गण्डकी प्रदेशको उपाध्यक्षको रूपमा समेत जिम्मेवारी बहन गर्दै नेपालको सामुदायिक प्रसारण आन्दोलनलाई नेतृत्व प्रदान गरिरहनुभएको छ।

नेतृत्व विकासका क्षेत्रमा पनि उहाँको सक्रियता उदाहरणीय छ। उहाँले विं सं.२०१७ मा जेसिजको अध्यक्षको सफल जिम्मेवारी सम्हालिसक्नुभएको छ, जसले उहाँको संस्थागत र साङ्गठनिक नेतृत्व क्षमतालाई अझ परिपक्व बनाएको छ।

शिक्षा, सञ्चार, महिला सशक्तीकरण र सामाजिक सेवाका विविध क्षेत्रमा लामो समयदेखि निष्ठापूर्वक सेवा पुर्याउँदै आउनुभएकी शान्ता थापाले १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएसँगै पार्टीभित्र वैचारिक, समावेशी र गतिशील नेतृत्वको आवश्यकतालाई थप बल पुगेको छ। पार्टी संगठनलाई अझ सुदृढ, जनमुखी र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँदै उहाँले पार्टीका सम्पूर्ण अग्रज नेता, बौद्धिक व्यक्तित्व तथा महाधिवेशन प्रतिनिधि मतदाताहरूको अमूल्य सहयोग, सद्भाव र समर्थनको अपेक्षा गर्नुभएको छ।

Google search engine