आरती कुँवर
वालिङ, २८ चैत ।
नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीवक्ताहरूले सरकारको पछिल्लो विज्ञापन नीतिका कारण देशभरका र विशेषगरी मोफसलका निजी सञ्चार माध्यमहरू आर्थिक रूपमा धराशायी हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। लोकतन्त्रको चौथो अङ्गका रूपमा रहेका निजी सञ्चार माध्यमहरूलाई राज्यले दिने विज्ञापनमा कटौती गर्दा सञ्चार गृह सञ्चालन गर्न र श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक दिन समेत कठिन भएको सहभागीहरूको ठहर छ। नागरिकलाई सुसूचित गर्ने र सरकारलाई जवाफदेही बनाउने कार्यमा निजी मिडियाको भूमिका अतुलनीय भए पनि सरकारले विज्ञापन वितरणमा विभेद गरेको र संरक्षणमा ध्यान नदिएको गुनासो कार्यक्रममा गरिएको थियो।
कार्यक्रमका क्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले विगतदेखि वर्तमानसम्म मिडियाले खेलेको भूमिका भुल्न नहुने भन्दै नेपाल पत्रकार महासंघले सरकारले चालेको कदमप्रति दबाबमूलक कार्यक्रम गर्ने र महासंघ चुप लागेर नबस्ने चेतावनी दिनुभयो। प्राकृतिक विपत्तिले मिडिया तथा पत्रकारहरूलाई पटक-पटक असर गरिरहेको अवस्थामा सरकारले मिडियालाई संरक्षण गर्नुको सट्टा घाँटी निमोठ्ने काम गरेको भन्दै उहाँले खेद प्रकट गर्नुभयो। यस्तै नेपाल बार एसोसिएसन स्याङ्जाका उपाध्यक्ष संगिता नेपालीले सरकारी विज्ञापन निजी मिडिया हाउसलाई प्रकाशन गर्न रोक लगाउनु लोकतन्त्र एवं कानुनी हिसाबले समेत न्यायोचित नभएको बताउनुभयो। यसले नागरिकले पाउने न्यायमा समेत गम्भीर असर पुर्याउनुका साथै न्यायमा पहुँच कम हुने खतरा रहने उहाँको भनाइ थियो।
पत्रकार महासंघ गण्डकीका सदस्य तथा पूर्व जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देलले मिडिया तथा पत्रकारको संरक्षणमा पहिलेदेखि नै बनेका सरकारले चासो नदिएको र फेरि भर्खर बनेको सरकारले निरङ्कुश तरिकाले मिडिया तथा मिडिया सञ्चालकप्रति गरेको यो विभेदपूर्ण निर्णय स्वीकार्य नहुने बताउनुभयो। रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, पत्रकार महासंघ स्याङ्जाका सचिव सुशील सुवेदी, कोषाध्यक्ष जोगराज पाठक लगायत सहभागी पत्रकार तथा सरोकारवालाहरूले विज्ञापनको समानुपातिक वितरण प्रणाली लागू गर्न र स्थानीय सञ्चार माध्यमको दिगोपनका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ। सञ्चार क्षेत्रमा देखिएको यो आर्थिक संकट समाधान नभए धेरै मिडिया हाउसहरू बन्द हुने र नागरिकको सूचनाको हक समेत कुण्ठित हुने बताएका छन् । कार्यक्रम प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।





