शैक्षिक क्षेत्रमा आर्थिक चलखेल भएको आरोप लगाएका शिक्षकले मागे माफी

0
86
Google search engine

वालिङ १६, चैत ।
सामाजिक सञ्जालमार्फत वालिङमा शैक्षिक क्षेत्रमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएका शिक्षकले माफी माग्नुभएको छ । वालिङ नगरपालिकामा सोमबार भएको छलफलमा आरोप लगाउनुभएका शिक्षक अमृतप्रसाद खनालले सार्वजनिकरुपमै माफी मागेपछि तत्काल देखिएको विवाद अन्त्य भएको हो । गएको चैत ७ गते शिक्षक खनालले शिक्षक शिक्षिकाको सरुवा बढुवा तथा समायोजन प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न दश वटा बूँदाहरु सार्वजनिक गर्नुभएको थियो ।

Google search engine

शिक्षक खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत बूँदाहरु सार्वजनिक गर्नुभएपनि त्यसको आधिकारिक पुष्टि हुने आधारहरु नभएपछि उहाँले माफी माग्नुभएको हो । नगरपालिकामा नगर शिक्षा समिति, जनप्रतिनिधि, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा भएको छलफलमा आर्थिक चलखेल भएका प्रमाण तथा आधारहरु आरोप लगाउनुभएका शिक्षक खनालले प्रस्तुत गर्न नसकेपछि सार्वजनिकरुपमै माफी माग्नुभएको हो । छलफलकाक्रममा आरोपित विद्यालयका शिक्षकहरूले आँफूहरूले कुनै पनि आर्थिक चलखेल नगरेको स्पष्ट पार्दै प्रमाण भए कारबाही भोग्न तयार रहेको बताउनुभएको थियो ।

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष तथा रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बारम्बार शिक्षकको चरित्र हत्या हुने प्रवृत्तिप्रति आपत्ति जनाउँदै शिक्षा क्षेत्रमा अनियमितता नभएको दाबी गर्नुभयो । “प्रमाण भए म शिक्षा क्षेत्र छोड्न तयार छु, तर बिना प्रमाण आरोप लगाउनेलाई कारबाही हुनुपर्छ” उहाँले भन्नुभयो । त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान केन्द्रीय सदस्य यामबहादुर कुँवरले भावनामा आएर सामाजिक सञ्जालमा यस्ता विषय सार्वजनिक गर्नु गलत भएको धारणा राख्नुभयो । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले यस्तो गतिविधिले सिङ्गो नगरपालिकाको छवि प्रभावित बनाएको बताउनुभयो ।

Google search engine