वालिङ, १३ माघ ।
गाउँगाउँमा आधुनिक पक्की घरहरूले ठाउँ ओगटेपछि हिजोआज मौलिक ‘घुमाउने घर’ हरू एकादेशको कथा जस्तै बन्न थालेका छन्। खरको छानो, रातो माटोले लिपिएको भित्तो र मौलिक वास्तुकला बोकेका यस्ता घरहरू लोप हुने अवस्थामा पुगेपछि वालिङ उद्योग वाणिज्य सङ्घले यसको संरक्षणमा एउटा भिन्न प्रयास थालेको छ। बुधबारदेखि सुरु हुन लागेको नवौँ वालिङ महोत्सवको मुख्य आकर्षकका रूपमा यतिबेला खेलमैदानमा लोपोन्मुख ‘कुडुले घर’ अर्थात् गोलघर निर्माण गरिएको छ।
पछिल्ला वर्षहरूमा सहर मात्र नभई गाउँघरमा समेत पुराना घरहरू भत्काएर सिमेन्टका महल ठड्याउने क्रम तीव्र बनेको छ। यही आधुनिकताको भेलमा हराउँदै गएको पुरानो पुस्ताको पहिचानलाई नयाँ पुस्तासँग जोड्ने पुलको रूपमा यो घर निर्माण गरिएको हो। बाँस, खर, काठ र माटो जस्ता स्थानीय सामग्रीको प्रयोग गरेर करिब १० दिन लगाएर बनाइएको यो दुईतले गोलघरले महोत्सव स्थलमा आउने जो-कोहीलाई दशकौँ पुरानो ग्रामीण परिवेशमा पुर्याउनेछ।
घरको बनोट मात्र होइन, यसको सजावटले पनि पुरानो नेपाली जीवनशैलीको झल्को दिन्छ। घरको छानो र पाली पूर्ण रूपमा खरले छाइएको छ भने भित्ताहरूलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ। घरभित्र पुग्ने दर्शकहरूले हाम्रा पुर्खाले प्रयोग गर्ने ढिकी, जाँतो, हलो, जुवा र ठेको जस्ता सामग्रीहरू देख्न पाउनेछन्। घरको शोभा बढाउन छानोमा फर्सी र कुभिण्डोहरू झुण्ड्याइएका छन् भने पिँढी र आँगनलाई गोबर-माटोले लिपिएकाले यसले साच्चैको गाउँले घरको आभास दिन्छ।
सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठका अनुसार, समयको विकाससँगै नयाँ पुस्ताले यस्ता घरहरू देख्न नपाएकाले उनीहरूलाई आफ्नो कला र संस्कृतिबारे जानकारी दिनु नै यो अभियानको मुख्य उद्देश्य हो। महोत्सव स्थलमा व्यापारिक चहलपहलका बीच यो घरले एउटा सांस्कृतिक सङ्ग्रहालयको भूमिका निर्वाह गर्नेछ। निर्माण उपसमितिका संयोजक केशव पराजुलीका अनुसार महोत्सव सकिएपछि पनि यसको संरक्षण गरिनेछ, ताकि यसले लामो समयसम्म हाम्रो मौलिकताको प्रतिनिधित्व गरिरहोस्।
वि.सं. २०६३ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको वालिङ महोत्सवको यो नवौँ संस्करण माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। झण्डै ४०० स्टलहरू रहने यस मेलामा व्यापारिक कारोबार मात्र नभई यस्ता मौलिक प्रदर्शनले महोत्सवलाई थप ओजिलो बनाउने अपेक्षा गरिएको छ ।





