मंसिर, ९ वालिङ ।
स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।स्याङ्जामा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने योजना बनेको एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।मङ्गलबार भएको पहिलो दिनको शुभारम्भ प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले लैङ्गिक हिंसा अन्त्यको लागि सबै तह र क्षेत्रको एकिकृत प्रयास आवश्यक रहेको कुरामा जोड दिनु भयो । उहाँले समाजमा सचेतना सँगै कानूनी उपचारबाट लैङ्गिक हिंसाको अन्त्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा एकिकृत सेवा कार्यालय स्याङ्जा प्रमुख जीवन पौडेलले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचेतनाका विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको बताउनु भयो । उहाँले प्रविधिको सदुपयोग गर्दै अनलाइन माध्यबाट “लैङ्गिक हिंसा र यसको अन्त्य” शिर्षकमा जिल्ला कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु बीच कविता प्रतियोगिता, सामाजिक नारी आवाजको दोस्रो अंक प्रकाशन, गायन र पञ्चेबाजाको संगीत मार्फत् महिला अधिकारको लागि महिलाहरु बीच पञ्चेबाजा प्रतियोगिता, सचेतना भिडियो प्रदर्शन, विद्यार्थीहरुलाई इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग जस्ता विभिन्न १६ वटा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
जिल्ला अस्पताल रहेको एकद्धार संकट व्यवस्थापन प्रणाली प्रमुख गीता न्यौपानेले समाजमा हिंसाका घटना धेरै भएता पनि बाहिर उजागर हुन नकस्दा महिलाहरु पिडित बनेको बताउनु भयो । उहाँले “म हिंसा गर्दिन, म हिंसा सहन्न” भन्ने समाज निर्माणमा जोड दिनु भयो ।
एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षता, सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरु सञ्चालनमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदी , प्रहरी नायव उपरिक्षक प्रशन्न राज चौधरी लगायत विभिन्न सरोकारवाला संघसस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको ऐक्यबद्धताको लागि हस्ताक्षर अभियानको पनि सुरुवात गरिएको छ ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।
महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।






