आरती कुँवर
वालिङ, २८ फागुन ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङमा जारी रहेको महोत्सवमा आठौ दिन पनि दर्शकहरुको सहभागिता उत्साहजनक रहेको छ । महोत्सवको आठौ दिनमा नेपाली चलचित्र जगतका नायक पल शाहलाईको प्रस्तुति हेर्नका लागि दर्शकको भिड लागेको हो । विदाको समयमा जस्तै आज पनि दर्शकको उत्साहजनक सहभागिता रहेको चेम्बरका महासचिव तथा महोत्सव प्रचारप्रसार समिति संयोजक गणेश राउतले बताउनुभयो । वालिङ चेम्बर अफ कमर्शको आयोजना तथा वालिङ नगरपालिकाको सहआयोजनामा वालिङ, ८ खेलमैदानमा प्रथम पिंक सिटी महोत्सव चलिरहेको छ ।
विभिन्न कार्यक्रमहरु संगै दैनिक रुपमा कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु रमाईरहेको संयोजक राउतले जानकारी दिनुभयो । ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति, बाल उद्यानमा रमाउन दैनिक जसो दर्शकको भिड लागेको उहाँको भनाई छ । साथै गायक खुमन अधिकारी, गायिका कृष्णा गुरुङ, आधुनिक तथा पप गायक रुपक डोटेल लगायतका कलाकारहरुको प्रस्तुति हेर्नेको भिड लागेको उहाँले बताउनुभयो ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भैरहेका छन् ।
महोत्सवमा २७५ स्टल रहेका छन् । महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । महोत्सव चैत्र ३ गते समापन हुनेछ ।
यसैबीच भोलि २९ गते बिहीबार होलीको दिन गायिका शान्ती श्री परियार, गायक राजन कार्की, कलाकार नविना सिलवाल (खुईली), प्रकाश पराजुली, हास्य तर्फ मेक्सम गौडेल माया गुरुङ, राशि रिजाल, तारा पौडेल, डान्सर सगुन थापा, आसिका श्रेष्ठ, जीवन दाहाल, राजेश भण्डारी लगायतको प्रस्तुति रहने छ ।