तोलाकान्त बगाले
वालिङ, २९ पुस ।
स्याङ्जाको वालिङमा सोमबारबाट अन्तर विद्यालयस्तरीय जिल्लाब्यापी सेभेन ए साईड फुटबल लिग प्रतियोगिता सुरु भएको छ । वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा १४ वर्षभन्दा कम उमेरका खेलाडीहरुको सहभागिता हुने प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सानै उमेरदेखि नै बालबालिकाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गर्नकालागि यस खालका प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले बालबालिकाहरुभित्र रहेको प्रतिभा प्रष्फुटनसँगसँगै आगामी दिन थप प्रशिक्षण प्रदान गरी राम्रो खेलाडी उत्पादन गर्न सकिने भएकाले प्रतियोगिताहरुको निरन्तरतामा जोड दिनुभयो । उहाँले यस प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।
उद्घाटन समारोहमा पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङका प्रधानाध्यापक विष्णुप्रसाद अर्याल, प्रायोजकहरुकातर्फबाट सेमला काफ्ले, प्रतियोगिता संयोजक केशरबहादुर थापा (राजन) ले स–साना बालबालिकाहरुमा लुकेर रहेका प्रतिभाहरुको प्रष्फुटनमा यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा स्याङ्जा जिल्लाभित्रका सामुदायिक र संस्थागत गरी १४ विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ४०, २० र १० हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर विभिन्न विधाहरुमा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने भएको हो ।
सोमबार कूल ४ वटा खेलहरु सम्पन्न भएका छन् । सोमबार भएका खेलहरुमा इभरग्रिन बोर्डिङ स्कूल स्याङ्जा, ज्ञानोदय बोर्डिङ स्कूल स्याङ्जा, सगरमाथा बोर्डिङ स्कूल वालिङ र भुम्रे माध्यमिक विद्यालय वालिङ बिजयी भएका छन् ।
ईभरग्रिनले पाईनिअज एजुकेशन एकेडेमीलाई पराजित गरेको हो भने ज्ञानोदयले पूर्णामृत भवानी माविलाई पराजित गरेको हो । त्यस्तै सगरमाथा बोर्डिङ स्कूलले भूपू सैनिक बोर्डिङ स्कूल गल्याङलाई पराजित गर्दा भुम्रे माविले पिसजोन ईण्टिग्रेटेड एजुकेशन एकेडेमीलाई पराजित गरेको हो ।