वालिङ, १० मङ्सिर ।
लायन्स क्लब डिस्ट्रिक गभर्नर एडभाईजरी समितिको दोस्रो बैठक आज वालिङमा सम्पन्न भएको छ । लायन्स ईन्टरनेशनल ३२५ एम नेपाल अन्तर्गत क्लष्टर ३ रिजन ९ र जोन १७ का ४ वटा क्लबहरुको संयुक्त बैठक वालिङमा भएको हो । जोन १७ को आयोजनामा भएको बैठकमा लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ गल्याङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन होम र लायन्स क्लब अफ भीरकोट स्याङ्जाको संयुक्त बैठक भएको हो ।
कार्यक्रममा लायन्स मोडल भिलेज डिपार्टमेन्ट हेड चेतनारायण श्रेष्ठले लायन्स क्लब विशुद्ध सेवा गर्ने पवित्र उद्देश्यले स्थापना भएको स्मरण गर्दै क्लबहरुले यसको उद्देश्यअनुरुपका कार्यक्रमहरु अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार, विभिन्न संघ संस्था तथा ब्यक्तिहरुसितको समन्वयमा समाजमा देखिने र उदाहरणीय कार्य गर्दै मानवीय सेवामा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रमममा रिजन चियर पर्सन सजना कोईराला कडेल, जोन चियर पर्सन बिजय कोईराला, लायन्स क्लब अफ गल्याङ सिटीका अध्यक्ष योबहादुर राना, लायन्स क्लब अफ वालिङ ग्रिन होमका अध्यक्ष विश्व खड्का, लायन्स क्लब अफ भीरकोट स्याङ्जाका अध्यक्ष ढाकाराम खनाल र लायन्स क्लब अफ वालिङ सिटीका सचिव तोलाकान्त बगालेले क्लबले हालसम्म गरेका कार्य प्रगति विवरण तथा भावी कार्य योजनाहरुकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर दिपक लम्सालले हंगर रिलिफ कार्यक्रम अन्तर्गत लायन्स ईन्टरनेशनलबाट पूर्णामृत भवानी माध्यमिक विद्यालयमा स्वीकृत कार्यक्रमकाबारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रमकालागि एक लाख डलर स्वीकृत भई परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।
कार्यक्रम जोन चियर पर्सन बिजय कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।