वालिङ, १४ कात्तिक ।
नवप्रभात युवाक्लबले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अनुभवका खानीकारुपमा रहेका गाउँका ८० वर्ष पुगेका १२ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला, फलफूल तथा पौष्टिक खानेकुरासहित सम्मान गरेको हो ।
क्लबको २४ औं वार्षिकोत्सवलाई विविध कार्यक्रमसहित मनाउनेक्रममा बुधबार ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेर जिल्लाब्यापी फुटसल प्रतियोगिताको सुरुआत गरेको हो ।
ज्येष्ठ नागरिक सम्मान तथा प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले एकले अर्कालाई सम्मान गरेमात्रै आँफूले पनि सम्मान पाईने कुरा विर्सन नहुने बताउनुभयो । आँफूले सम्मान चाहनेले अरुलाई पनि सम्मान गर्न सक्नुपर्ने विचार ब्यक्त गर्नुभयो । क्लबले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्दै आएको बताउँदै यसप्रकारका अभियानहरुलाई निरन्तरता दिन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले विविध क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा खुसी ब्यक्त गर्दै वडाबाट निरन्तर साथ र सहयोग रहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, सम्मानित ज्येष्ठ नागरिकहरुकोतर्फबाट वरिष्ठ समाजसेवी, शैक्षिक ब्यक्तित्व मुक्तिप्रसाद सुवेदीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उद्घाटन समारोह क्लबका अध्यक्ष मधुसुधन सुवेदीको अध्यक्षतामा भएको थियो भने स्वागत क्लबका सदस्य मेक्सम गौडेलले र सञ्चालन खेल संयोजक तोलाकान्त बगालेले गर्नुभएको थियो ।
क्लबले आयोजना गरेको फुटसल प्रतियोगितामा स्याङ्जा जिल्लाका २५ टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले नगद १० हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
क्लबले यसअघि गत शुक्रबार र शनिबार जिल्लास्तरीय सि लेभल तथा भेट्रान्स ब्याडमिण्टन प्रतियोगिता सम्पन्न गरेको थियो ।