वालिङ, १ साउन, ।
लायन्स क्लब अफ वालिङ सिटीले पहिरो पीडित परिवारलाई सामग्री हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ २ सियालेस्थित पहिरोपीडित रामकुमारी विकको घरमै पुगेर मंगलबार दैनिक उपभोग्य खाद्यान्न, भाँडावर्तन, नगद तथा त्रिपाल हस्तान्तरण गरेको हो ।
लायन्स ईन्टरनेशनलबाट स्याङ्जा जिल्लाका विभिन्न स्थानमा असार २२ देखि परेको अविरल वर्षाकाकारण ब्यहोर्नुपरेको जनधनको क्षतिमा मलमपट्टी लगाउनकालागि लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एममार्फत लायन्स ईन्टरनेशनलमा अनुरोध गरिए बमोजिम ईमर्जेन्सी ग्रान्ट ट्रेकिङ नम्बर ईएमआर २४६८१÷३२५ एम मार्फत प्राप्त सहयोगबाट सामग्री हस्तान्तरण गरिएको हो ।
मानवीय सेवाहरुमा सहयोग गर्दै आईरहेको लायन्स क्लब अफ वालिङ सिटीले पहिरोपीडित भई आफन्तको घरमा बस्दै आउनुभएकी विकको परिवारलाई सहयोग गरेको हो । विकको घरभन्दामाथिबाट आएको पहिरोले बस्दै आएको दुईतले घरको पछाडिको गारो भत्काएको छ भने घर अगाडि पनि तलबाट पहिरो गएको छ । असार २२ गते बिहान ६ बजे घरको माथि र तल दुबैतिरबाट पहिरो गएकाले घरमा क्षति पुगेको हो । घरमा आमा छोरीमात्रै बस्दै आउनुभएको थियो ।
ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएको पहिरो पीडित परिवारलाई क्लबकातर्फबाट सानो सहयोग गरिएको जोन चियर पर्सन बिजय कोईरालाले बताउनुभयो । लायन्स क्लब अफ वालिङ सिटी मानवीय सेवामा निरन्तर लाग्दै आईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै अगाडि बढ्ने लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष स्वाँ श्रेष्ठले बताउनुभयो ।
यसैबीच लायन्स क्लब अफ भीरकोटले बाढी र पहिरो प्रभावित १४ घरपरिवारलाई राहत वितरण गरेको छ । वडा नं ४, ५, ६ र ९ का बाढी पहिरोबाट पिडित भएका १४ परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष ढाकाराम खनालले बताउनुभयो ।
बाढी र पहिरोमा परी परिवारजन गुमाएका परिवारलाई नगद १० हजार राहत सहित खाद्यान्न , त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको छ भने विपद्का कारण घरबास जोखिममा परेर अप्ठ्यारोमा परेका परिवारलाई खाद्यान्न , त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री प्रदान प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण ) ले जानकारी दिनुभयो ।