वालिङ, २९ पुस ।
स्याङ्जाको वालिङ नगरपालिकाको पन्ध्रौं नगरसभा उपप्रमुखसहित पन्ध्र जना सदस्यहरुले बहिस्कार गरेका छन् । शनिबार नगरपालिकाको हलमा सभा सञ्चालन हुँदै गर्दा उपप्रमुखसहितका सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै नगरसभा बहिस्कार गरेका हुन् ।
वालिङ नगरपालिकाको स्थानीय नगर शिक्षा ऐन २०७४ को दोस्रो संशोधनको विषयमा नेपालको संविधान र संघीय शिक्षा ऐन २०२८ विपरित वडा अध्यक्ष नै स्वतः विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने गरी ल्याईएको प्रस्तावमाथि गम्भीर ध्यानाकर्षण भएको उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
वडा अध्यक्षलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णयले विद्यालय ब्यवस्थापन र सञ्चालनमा अभिभावक तथा समुदायको सहभागिताको अधिकारप्रति ठाडो हस्तक्षेप भएको, सामुदायिक विद्यालयको मर्ममाथि नै प्रहार भएको, सामुदायिक विद्यालय समुदायको हातबाट खोसिएको, आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावहरुको अपनत्वमाथि कुठाराघात भएको विज्ञप्तिमार्फत जनाईएको छ ।
उपप्रमुख तिवारी, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयका चन्दादाता, शिक्षाप्रेमी, समाजसेवी नागरिकहरुलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनबाट रोक लगाएको अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाएर राजनैतिक हस्तक्षेप बढाएको, वालिङ नगरपालिकाको शिक्षा समितिबाट वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ को संशोधनको विषयमा असहमति जनाई ध्यानाकर्षण भई आएको ब्यहोरा जनाईएको छ ।
सार्वजनिक शिक्षामाथिनै प्रहार हुने ठहर गरी बहुमतको आधारमा निर्णय गर्ने तयारी गरेकाले बहिस्कार गर्न बाध्य हुनुपरेको उपप्रमुख तिवारीले बताउनुभयो ।
संविधानतः विद्यालय शिक्षाको शिक्षाको नियामक निकायकोरुपमा रहेको स्थानीय सरकारको वडा अध्यक्ष नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहने कुरा अशोभनीय, अब्यवहारिकमात्र नभई अभिभावकको अधिकार कुण्ठित गर्दै विद्यालयमाथि राजनैतिक हस्तक्षेप गर्ने मनसायले आएको बुझाई बहिस्कार समूहको छ । निर्णयलाई सच्याएर सहमति, सहकार्य र एकतासहित नगरपालिकाको समग्र विकासमा जोडिनुपर्ने माग उक्त समूहले गरेको छ ।