वालिङ, २६ साउन ।
लायन्स क्लब वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीको आयोजनामा स्याङ्जाको वालिङ १० बझाकोटमा शुक्रबार वृक्षारोपण गरिएको छ । बझाकोटस्थित लायन्स नमूना गाउँमा गरिएको वृक्षारोपण कार्यक्रममा बोल्नुहुँदै डिस्ट्रिक ३२५ एम नेपालका रिजन चियर पर्सन सीताराम अधिकारीले रोपिएको विरुवाको जीवन्तता महत्वपूर्ण हुने भएकाले यसको संरक्षणमा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिरुवा रोपेर छाड्दैमा नहुने भन्दै संरक्षण गरी हुर्काउन सकेमात्रै वृक्षारोपणको उपलब्धी देखिने बताउनुभयो । विरुवाको संरक्षणकालागि स्थानीयलाई नै विरुवाहरु उपलब्ध गराईएकाले यो बढी प्रभावकारी हुने धारणा उहाँको थियो ।
कार्यक्रममा समाजसेवी रामबहादुर थापाले बझाकोटलाई लायन्स क्लबको नमूना गाउँकोरुपमा विकास गर्नकालागि सक्रियताकासाथ लागिरहेको बताउनुभयो । उक्त कार्यक्रममा प्रति घरधुरी २ वटाका दरले उन्नत जातको कागती र समूह घरलाई अशोकाका विरुवाहरु हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष विजय कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष किशोर बस्यालले गर्नुभएको थियो ।