स्याङ्जा क्षेत्र नं. १ बाट युवा तर्फको महाधिवेशन प्रतिनिधि पदमा सन्देश लम्सालले उम्मेदवारी घोषणा गरेका छन्।
हरिनास गाउपालिका–५ मा जन्मिएका लम्साल नेपाली कांग्रेसको लोकतान्त्रिक विचारधारा र मूल्य–मान्यताप्रति प्रतिबद्ध युवा राजनीतिकर्मीका रूपमा आफ्नो राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाउँदै आएका छन्। सानै उमेरदेखि नेपाली कांग्रेसप्रति आस्था राख्दै लोकतन्त्र, प्रजातन्त्र तथा लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास राख्दै आएका लम्सालले वि.सं. २०७३ सालदेखि नेपाल विद्यार्थी संघमार्फत औपचारिक रूपमा विद्यार्थी राजनीति सुरु गरेका थिए। युवाको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै पार्टी संगठनलाई थप बलियो, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित आफू उम्मेदवार बनेको लम्सालले बताएका छन्।
“अब युवा बोल्ने मात्र होइन, नेतृत्व गर्ने समय हो,” लम्सालले भने, “कांग्रेसलाई चुनावको समयमा मात्र होइन, हरेक समय जनताको बीचमा सक्रिय र बलियो संगठनका रूपमा स्थापित गर्न आवश्यक छ।”
लम्सालले युवालाई अवसर, योग्य तथा सक्रिय कार्यकर्तालाई सम्मान, संगठनमा एकता र गुटभन्दा माथि कांग्रेसको भावनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युवाको ऊर्जा, अग्रजको अनुभव र कार्यकर्ताको एकताबाट नयाँ पुस्ताको गतिशील कांग्रेस निर्माण गर्नुपर्ने उनको भनाइ छ।
“परिवर्तनको कुरा मात्रै होइन, अब संगठनभित्रैबाट परिवर्तनको नेतृत्व गर्ने बेला हो,” उनले भने।
स्याङ्जा क्षेत्र नं. १ का कांग्रेस कार्यकर्ताको साथ, सहयोग र विश्वाससहित महाधिवेशनमा युवा आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ आफू अघि बढेको लम्सालले बताएका छन्।
सन्देश लम्साल
युवा तर्फबाट महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
स्याङ्जा क्षेत्र नं. १





