वालिङ, ३ असोज ।
नेपाल प्रेस युनियन स्याङ्जाको १०औँ अधिवेसनका अवसरमा जिल्लाका क्रियाशिल पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन् । १० औँ जिल्ला अधिवेशनको अवसर पारेर नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भुपराज बस्याल, नेपाल पत्रकार महासंघ स्याङ्जाका जिल्ला अध्यक्ष प्रदिप कोईराला ,नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष ओमप्रकाश शर्मा, पब्लिक आवाज साप्ताहिक पत्रिकाका सम्पादक अमृत अर्याल, गल्याङ पोष्ट साप्ताहिक पत्रिकाका अध्यक्ष तथा सम्पादक टीकाराम अधिकारी, रेडियो आँधीखोलाका समाचार वाचक तथा कार्यक्रम प्रस्तोता आरती कुँवर र जीवन डोटेल पुरस्कृत हुनुभएको हो ।
केन्द्रिय सदस्य बस्याल जोखिम पत्रकारिता पुरस्कार, जिल्ला अध्यक्ष कोईराला प्रेस युनियन र्सिजनशील पत्रकारिता पुरस्कार, पुर्व अध्यक्ष शर्मा आर्थिक पत्रकारिता पुरस्कार, सम्पादक अर्याल नेत्र स्मृति पत्रकारिता पुरस्कार, सम्पादक अधिकारी गजेन्द्रप्रकाश स्मृति पत्रकारिता पुरस्कार, रेडियो आँधीखोलाका कुँवर गोपालमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार र डोटेल कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । पुरस्कृत हुनेहरुलाई नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । गोपालमान स्मृति पत्रकारिता पुरस्कारको राशि ११ हजार १११ र अन्यको समान ५÷५ हजार रहेको छ ।
त्यस्तै प्रेस युनियन स्याङ्जाले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, उपमहासचिव दिलिपाश्री अधिकारी, केन्द्रिय सदस्य श्रीकृष्ण सिग्देल, नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष प्रकाश डोटेल, पूर्व उपाध्यक्ष भवानी अधिकारीलाई सम्मान गरेको छ । उहाँहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
अधिवेसनको उद्दघाटनलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन पार्टीको झोले संस्था नभएको भन्दै पत्रकारितालाई संस्थागत गर्ने संगठन भएको बताउनुभयो । साथै अध्यक्ष लम्सालले वर्तमान सरकारले प्रेस विरोधि गतिविधिहरु गरिरहेको भन्दै यस्तो अवस्थामा पत्रकारिता जगत झनै शसक्त हुनुपर्नेमा जोड दिनुभयो । लोककल्याणकारी विज्ञापन कटौती गर्ने निर्णयप्रति प्रेस युनियनको गम्भीर आपत्ति रहेको भन्दै पत्रकारितालाई संस्थागत गर्न सबै पत्रकारहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांगे्रस स्याङ्जा क्षेत्र नं. २ का सभापति दिलिपप्रताप खांणले पत्रकारहरु व्यवसायिक हुनुपर्ने भन्दै पत्रकारिताजगत आर्थिक रुपमा सबल हुनुपर्ने बताउनुभयो । पत्रकार केवल संगठनमा मात्रै रहने दल तथा गुटगत रुपमा लाग्ने अवस्था रहेको भन्दै अव पत्रकारिता जगत संस्थागत रुपमा उद्यमी बन्नुपर्ने भन्दै यस कार्यमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव दिलिप पौडेल, उपमहासचिव दिलिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भुपराज बस्याल, जनपत्रकार संगठन केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देल, ओम प्रकाश शर्मा, नेपाल प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, नेपाली कांगे्रस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेलगायतले पत्रकारले लुकेका र लुकाईएका विषयलाई उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम प्रेस युनियन जिल्ला सभापति तोलाकान्त बगालेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष गोपीकृष्ण रेग्मी र सञ्चालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो । यसैबीच नेपाल प्रेस युनियनको १० औँ जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा राधाकृष्ण डुम्रे र गोपीकृष्ण रेग्मीको उम्मेदवारी परेको हो । अध्यक्ष लगायत अन्य पदहरुको सहमतिमा नेतृत्व टुङ्गाउने प्रयास भइरहेको निर्वाचन मण्डलका संयोजक प्रेमराज पौडेलले जानकारी दिनुभयो । अब बन्ने समितिले आगामी ४ वर्षको लागि नेतृत्व गर्ने छ ।






