वालिङ, ३ असोज ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखी वडा अधिवेशन शुरु भएको छ । १५ औँ महाधिवेशन यही असोज १६ देखी १९ गतेसम्म हुनेछ । सोही महाधिवेशनका लागि आज र भोली अर्थात् असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ । महाधिवेशनको प्रारम्भिक प्रक्रियाअन्तर्गत स्याङ्जा जिल्लाका सबै वडा तहमा असोज ३ र ४ गते वडा अधिवेशन सुरु भएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधान सभा सदस्य राजु थापाले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत हुन गइरहेको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबैमा हार्दिक अपिल गर्नुभएको हो ।
स्याङ्जाका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई कुनै पनि द्विविधामा नपरी उत्साह, एकता र जिम्मेवारीबोधका साथ अधिवेशनमा सहभागी हुन अनुरोध सभापति थापाले अनुरोध गर्नुभएको छ । वडा अधिवेशनले पार्टी सङ्गठनलाई सुदृढ बनाउनुका साथै नेतृत्व चयन र लोकतान्त्रिक अभ्यासलाई वडा तहसम्म मजबुद बनाउने भन्दै पार्टीको विधान, निर्धारित प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै आपसी सद्भाव, सहकार्य र एकताका साथ सहभागी हुन आग्रह गरिएको छ ।
सभापति थापालेअधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई नेपाली कांग्रेसको सङ्गठनलाई गतिशील, अनुशासित र सुदृढ बनाउने एक महत्वपूर्ण अभियान भएको भन्दै पार्टीको सङ्गठनात्मक लोकतन्त्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. २ स्याङ्जाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै ४५ वटै वडाका वडा सभापतिहरूलाई वडा अधिवेशन समयमै र सर्वसम्मत रूपमा सम्पन्न गर्न अनुरोध गर्दै परिपत्र जारी गरेको छ । क्षेत्रीय सभापति दिलिप प्रताप खाँणद्वारा हस्ताक्षरित परिपत्रमार्फत असोज ३ र ४ गते तोकिएको वडा अधिवेशन सम्बन्धी निर्देशन दिइएको हो ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन यही असोज १६ देखि १९ गते काठमाडौँमा सम्पन्न हुन गइरहेको सन्दर्भमा क्षेत्रीय कार्यसमितिले वडा तहको अधिवेशनको तयारी तीव्र पार्न ताकेता गरेको हो। सबै वडाहरूमा आपसी सहमति, सहकार्य र एकतालाई आत्मसात् गर्दै असोज ३ गतेभित्रै सकेसम्म सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न गर्न आह्वान गरिएको छ ।
यदि सर्वसम्मत हुन नसकेको खण्डमा असोज ४ गते निर्वाचन प्रक्रियामार्फत वडा अधिवेशन सम्पन्न गरी सोको अभिलेख क्षेत्रीय कार्यसमितिमा पेश गर्न भनिएको छ । वडाहरूमा खटिने निर्वाचन समितिसँग आवश्यक समन्वय र सहकार्य गरी अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पूर्ण सहयोगको अपेक्षा गरिएको छ । उक्त पत्रको बोधार्थ स्याङ्जा क्षेत्र नं. २ अन्तर्गतका ५ वटै पालिका कार्यसमिति र २ वटै प्रदेश क्षेत्रीय कार्यसमितिका सभापतिहरूलाई दिइएको छ । दुई निर्वाचन क्षेत्र रहेका स्याङ्जामा कुल ९७ वडाहरु रहेका छन् । क्षेत्र नंम्बर २ मा भने ४५ वडा रहेका छन् ।





