आज तीज हो, तर तीजजस्तो छैन…

0
1
Google search engine

कल्पना न्यौपाने

Google search engine

आज हरितालिका तीज। नेपाली महिलाहरूको महान् पर्व। रातो साडी, हरियो पोते, चुरा, मेहन्दी, दर र सङ्गीनीका भाकाले देशभरिका घर–आँगन गुञ्जिनुपर्ने दिन। तर यसपालि नेपालभरि नै तीजको चहलपहल विगतका वर्षहरूजस्तो देखिँदैन। बजारमा रातो साडी र चुराको चमक त छ, तर मानिसहरूको अनुहारमा पहिलेको जस्तो उत्साह छैन। दर खाने जमघटहरू छन्, तर हाँसोमा पनि कुनै न कुनै चिन्ताको छाया मिसिएको छ। सामाजिक सञ्जालमा केहि ह्याप्पी भनेका तीजका तस्बिरहरू देखिन्छन्, तर ती तस्बिरहरूको बीचमा देशको वर्तमान पीडा, महँगी, बेरोजगारी, प्राकृतिक विपद् र पारिवारिक समस्याहरूले मन भारी बनाइरहेका छन्। कतै बाढीले घर बगाएको छ, कतै पहिरोले परिवार छुटाएको छ, कतै आफन्त बेपत्ता छन्। विशेषगरी रसुवाका बस्तीहरूमा यसपालिको तीज पर्वभन्दा बढी शोकको दिन बनेको छ। पालमुनि बसेका दिदीबहिनीहरूका लागि रातो साडीभन्दा पनि सुरक्षित बास, दरभन्दा पनि एक छाक खाना र नाचगानभन्दा पनि आफन्तको खबर ठूलो बनेको छ। तीज त क्यालेन्डरमा आयो, तर देशको मनमा पहिलेको जस्तो उमङ्ग लिएर आउन सकेन। गाउँदेखि सहरसम्म, माइतीदेखि कर्मघरसमम्म, विगतमा जस्तो सामूहिक उत्साह र उल्लास कम देखिन्छ। कसैलाई आर्थिक भारको चिन्ता छ, कसैलाई परिवारको जिम्मेवारीको, कसैलाई देशको अवस्थाको, त कसैलाई विपद्मा परेका नेपालीहरूको पीडाले रमाउनै दिएको छैन। आज कतै दर पाकिरहेको होला, तर कतै चुलो निभेको छ। कतै मादल बजिरहेको होला, कतै आफन्तको खोजीमा सन्नाटा छ। कतै चेलीहरू नाचिरहेका होलान्, कतै चेलीहरू आँसु पुछ्दै बसेका छन्। यसपालि तीजमा हामी केवल रातो पहिरन र रमाइलोका तस्बिरहरू मात्र साझा गरेका छैनौ विपद्मा परेका परिवारको पीडा सम्झीरहेका छौ , सहयोग गरिरहेका छौ, समवेदना बाँडिरहेका छौ ।  र देशको दुःखलाई आफ्नो दुःख ठानिरहेका छौ। आज तीज हो, तर तीजजस्तो छैन। किनकि नेपालभरिका धेरै घरमा यसपालि उत्सवभन्दा जिम्मेवारी ठूलो छ, रमाइलोभन्दा चिन्ता गहिरो छ र खुसीभन्दा संवेदना बलियो छ।

कामना गरौँ-

अर्को तीजसम्म देशका सबै घाउ निको होऊन्,

विपद्मा परेका घरमा फेरि चुलो बलोस्,

बेपत्ताहरूको खबर मिलोस्,

र नेपाली महिलाहरूले फेरि निर्धक्क भएर

“आज साँच्चिकै तीज आएको छ” भन्न सकौ ।

Google search engine