वालिङ, २५ भदौ ।
नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले नेपाली काँग्रेस पार्टी एकताकालागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जाले बिहिबार स्याङ्जा सदरमुकाममा पार्टीका बरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आयोजित शोक सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबुत बनाउनकालागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताउनुभएको हो ।
“पार्टीलाई एकताबद्ध गर्नकालागि नरम हुन तयार छु “उहाँले भन्नुभयो, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।“
पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोही अनुसार अगाडि बढ्नकालागि लागिपर्ने उहाँले बताउनुभयो । देशमा आईपरेका जटिल समयहरूमा नेपाली काँग्रेस जिम्मेवार बनेर समस्या समाधान गर्दै आईरहेको बताउँदै उहाँले नागरिकहरूमाझ विश्वास र भरोसा जगाउने बताउनुभयो ।

स्वर्गीय श्रेष्ठले पार्टीलाई मजबुत बनाउनकालागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । फरक प्रसंगमा बोल्दै सभापति थापाले शासक अहंकारमा हराएर बरालिन थाले काँग्रेस थप जिम्मेवार भएर सही मार्गमा ल्याउनकालागि काँग्रेसको भूमिका महत्त्वपूर्ण हुने गरेको उहाँको भनाई थियो ।
यद्यपि यो समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको उहाँले बताउनुभयो । शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेपाली कांगे्रस चितवनका सभापति रामेश्वर खनाल, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, संविधान सभा सदस्य मोहनप्रसाद पाण्डे, कांगे्रस जिल्ला सचिव गुरुप्रसाद भट्राई, नेपाली कांगे्रसका स्याङ्जा क्षेत्र नं. १ का उम्मेद्धार भरतराज ढकाल, महासमिति सदस्य तुलसी गिरी, स्व. श्रेष्ठका छोरा सम्पुर्णमान श्रेष्ठ, काेंग्रस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारीलगायतका वक्ताहरूले स्वर्गीय श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।
कार्यक्रम नेपाली कांगे्रस जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति केदार काफ्ले र संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।






