वालिङ, २४ भदौ ।
उद्योगी व्यवसायीहरुको साझा संस्था वालिङ उद्योग वाणिज्य संघका मनोनित कार्यसमिति सदस्यहरु तथा महिला उद्यमी विकास समितिका पदाधिकारी एवम् सदस्यहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम बुधबार वालिङमा गरिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कबिता तिवारी गैह्रेले वालिङका नागरिकहरुलाई उद्यमी बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले व्यावसाय विस्तार तथा उत्पादित बस्तुहरुको बजारीकरण, सहुलियत दरमा कर्जा उपलब्ध गराउने, बिनाधितो कर्जा प्रवाह गर्नेलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन सक्ने बताउनुभयो ।

कार्यक्रममा वाणिज्य संघका निवर्तमान अध्यक्ष चेतनारायण श्रेष्ठ, पूर्व अध्यक्षहरु श्यामप्रसाद श्रेष्ठ, कर्णबहादुर श्रेष्ठ, महिला उद्यमी विकास समितिका अध्यक्ष पार्वती पंगेनी, निवर्तमान महासचिव रमेश अर्याल, पूर्व सल्लाहकार भुपराज बगालेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले मनोनित चार जना सदस्यहरुलाई र महिला उद्यमी विकास समितिका अध्यक्षलाई सपथ ग्रहण गराउनुभएको थियो भने महिला उद्यमी विकास समितिका अध्यक्ष पार्वती पंगेनीले महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई गोपनियताको सपथ गराउनुभएको थियो ।

संघका अध्यक्षम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव बिमल अर्यालले गर्नुभएको थियो भने स्वागत बरिष्ठ उपाध्यक्ष शंकर डुम्रेले गर्नुभएको थियो ।





