तोलाकान्त बगाले
वालिङ, १८ भदौ ।
यहाँका महिला दिदीबहिनीहरुले तीजको दरखाने कार्यक्रमलाई स्थागित गरी उक्त रकम बाढी पीडितलाई सहयोग गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका १ नं वडाको समन्वयमा वडाभित्रका विभिन्न टोलमा आवद्ध टोलबासी तथा आमा समूहहरुले नगद सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा जम्मा गरेका हुन् ।
वडाका विभिन्न टोलहरुमा महिला दिदीबहिनीहरुले दर खाने तथा तीज गीत प्रतियोगिताहरु सञ्चालनकालागि खर्च गर्ने रकम वडा कार्यालयको पहलमा एकमुष्ट सङ्कलन गरी ५ लाख ५५ हजार ५५५ कोषमा जम्मा गरेको वडा अध्यक्ष एवम् वालिङ नगरपालिकाका नगर प्रवक्ता पदमराज गुरुङले जानकारी दिनुभयो ।

“नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तीजमा हुने दरखाने स्थगित गरेर बाढी पीडितलाई सहयोग गर्दा राम्रो हुने ठान्यौं” उहाँले भन्नुभयो, “वडाका सबै टोलका आमा समूह तथा टोलका प्रतिनिधिहरुलाई डाकेर संयुक्त बैठक बस्यौं, सबै राजी हुनुभएपछि टोल÷टोल तथा आमा समूहहरुले रकम सङ्कलन गरेर ल्याउनुभयो, उक्त रकममा वडाका जनप्रतिनिधिहरुसहितको रकम मिलाएर कोषमा जम्मा गरेका हौं ।”

वडाका विभिन्न १७ वटा टोल तथा आमा समूहहरुबाट सङ्कलन भएको रकममा वडाअध्यक्षबाट ७ हजार र सदस्यहरुबाट ५÷५ हजारका दरले कोषमा एकमुष्ट रकम जम्मा गरिएको हो ।

“वडा कार्यालयको पहलमा भएको यो कार्य पहिलो र नौलो हो भन्ने हाम्रो दावी छ” उहाँले भन्नुभयो, “महिला दिदीबहिनीले आँफूहरुले दर नखाएर दिएको सहयोग रकमको सही सदुपयोग होस् ।”

वर्सेनि तीजका बेला दरखाने कार्यक्रम गर्दै आएपनि यसपटक दर नखाने र उक्त रकम भोटेकोशीका बाढी प्रभावितहरुको राहत र उद्धारकालागि सहयोगस्वरुप रकम उपललब्ध गराएको सक्षम आमा समूह वालिङ १ की अध्यक्ष बसन्ती रेग्मीले जानकारी दिनुभयो ।

राहत तथा उद्धारकालागि सहयोग गर्ने टोलका संयोजक तथा आमासमूहका पदाधिकारीहरुलाई वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँले देशमा संकट परेका बेला १ नं वडा कार्यालयले थालेको यो अभियानलाई अन्य वडाले पनि अवलम्वन गर्न सक्ने र यसले दुःखका बेला हातेमालो र सहयोग गर्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

“एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावले रकम सङ्कलन गरेका हौं” उहाँले भन्नुभयो, “दुःखमा एकाकार हुनु एकले अर्कालाई सहयोग गर्नु यो जस्तो ठूलो मानवीय कार्य अरु के नै हुन सक्ला र ?”

वडा कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी सहयोग गरेबापतको रकम बैंकमा जम्मा गरेर भौचर तथा सम्मान पत्र वितरण गरेको हो ।







