तोलाकान्त बगाले
वालिङ, ७ भदौ ।
यहाँको नेवार समुदायले मौलिक संस्कृतिको संरक्षण तथा पुस्तान्तरणकालागि लाखे नाँच प्रतियोगिता गरेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका ८ स्थित छिपछाप नेवाः खलले नेवार समुदायको पहिचानकोरुपमा स्थापित भएको लाखे नाँचको संरक्षण गर्ने उद्धेश्यले लाखे नाँच प्रतियोगिता गरेको हो ।
पुरानो पुस्तामा रहेको सीप, कला, संस्कार, संस्कृतिहरु नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लाखे नाँचलाई जीवन्त राख्नकालागि १५ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरुबीचमा लाखे नाँच प्रतियोगिता गरिएको छिपछाप नेवाः खलका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
“नेवार समुदायको धार्मिक, सांस्कृतिक एवम् सामाजिक दृष्टिले छुट्टै पहिचान बनाएको लाखे नाँचलाई हराउन नदिनकालागि प्रतियोगितात्मक कार्यक्रम ग¥यौं” उहाँले भन्नुभयो, “पहिलो पटक स–साना बालबालिकाहरुकाबीचमा आयोजना गरिएको प्रतियोगिता सोंचेभन्दा पनि राम्रो भयो, आगामी दिनहरुमा यसलाई अझै बृहत र थप ब्यवस्थित गरेर अगाडि बढ्छौं ।”
चापाकोट नगरपालिकाभित्र विभिन्न ठाउँमा बसोबास गरेका नेवार समुदायका समूहहरुबीच प्रतियोगिता गरिएको छिपछाप नेवाः खलका सचिव युवराज श्रेष्ठले जानकारी दिनुभयो ।
१५ वर्ष मुनीका बालबालिकाहरुकाबीचमा यस प्रकारको प्रतियोगिता राख्दा उनीहरुमा नेवार समुदायको लाखे नाँचसम्बन्धी प्रयोगात्मक ज्ञान हुने र उक्त ज्ञान जीवन्त हुने भएकाले पुस्तान्तरणमा निक्कै फलदायी हुने विश्वास सचिव श्रेष्ठको रहेको छ ।

१५ वर्षभन्दा कम उमेर समूहबाट एक जना लाखे र एकजना जोगिया बनेर नाँचेका हुन् । “नेवार समुदायमा प्रचलित रहेको लाखे नाँचको पुस्तान्तरणकालागि यो प्रतियोगिता गरेका हौं” सचिव श्रेष्ठले भन्नुभयो, “पहिलो पटक चापाकोट नगरभित्रलाई मात्रै समेटेर प्रतियोगिता गर्दा पाँच समूहको सहभागिता रह्यो, आगामी वर्ष यसलाई अझ विस्तार गर्दै धेरै समूहलाई सहभागी गराउने योजना बनाउँछौं ।”
नेवार समुदायको पहिचानकोरुपमा रहेको लाखे नाँच नाँच्न पाउँदा आँफूलाई गर्व लागेको १३ वर्षीय शिशिर श्रेष्ठले बताउनुभयो । हजुरबुवा, बुवाको उमेरका व्यक्तिहरु लाखे नाँचेको देख्नुभएका शिशिर आँफै मुकुण्डो लगाएर बाजाको तालमा लाखे नाँच्न पाउँदा निक्कै गर्व महशुस भएको बताउनुभयो ।
“मजस्ता नयाँ पुस्ताले पुराना पुस्ताहरुबाट सीप, कला, संस्कृति सिक्न पाउँदा खुसी लागेको छ” शिशिरले भन्नुभयो, “अझै युवा पुस्तालाई समेट्दै आकर्षित गर्दै अगाडि बढ्न सकेको खण्डमा लाखे नाँच लोप भएर नजाने र जीवन्त रहिरहन्छ ।”





