वालिङ, १६ असार ।
स्याङ्जाको वालिङमा रहेको व्यापारीहरूको छाता संस्था वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित हुनुभएको छ । संघको १९औँ साधारण सभा एवम् नवौँ अधिवेशनको क्रममा अध्यक्षका अर्का प्रत्यासी खगुपति न्यौपानेले ढुङ्गानालाई समर्थन गर्दै आफ्नो दाबेदारी फिर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका संयोजक लक्ष्मी प्रसाद रेग्मीका अनुसार न्यौपानेको सहमतिसँगै अध्यक्ष पदमा ढुङ्गानाको मात्र एकल उम्मेदवारी कायम भएपछि उहाँ सर्वसम्मत चयन हुनुभएको हो। यद्यपि, निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । ढुङ्गाना अध्यक्षमा निर्वाचित भएसँगै वालिङ उद्योग वाणिज्य संघले पहिलोपटक महिला नेतृत्व पाएको छ।
अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि संघका अन्य पदाधिकारी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । वाणिज्य संघका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि शङ्कर डुम्रे र प्रकाश अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्षकै दौडमा रहेका रमेश अर्यालले शङ्कर डुम्रेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेपछि अब डुम्रे र प्रकाश अर्यालबीच प्रतिष्पर्धा हुने भएको हो ।
यसैगरी, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष पदमा दुई दुई जनाको उम्मेदवारी कायमै रहेको निर्वाचन समिति संयोजका रेग्मीले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा सहमति जुटे पनि बाँकी अन्य महत्वपूर्ण पदहरूको टुङ्गो निर्वाचन प्रक्रियाबाटै लाग्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन मिति आउन बाँकी नै रहदा आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा सहमति अनुसार हुने उहाँले जानकारी दिनुभयो । यद्यपी अन्य बाँकी पदहरूका लागि आगामी असार २१ गते मतदान हुने गरी निर्वाचन कार्यतालिका तय गरिएको संयोजक रेग्मीले जानकारी दिनुभयो ।





